नेकपा एसले सरकारमा जाने/नजाने निर्णय आज गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले एमालेसँग एकताको कुरा निराधार भएको बताएको छ । पार्टी प्रवक्तासमेत रहनुभएका उपमहासचिव जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको टिप्पणी गरेका हुन् ।

पार्टी कार्यालय मीनभवनमा शनिबारबाट सुरु पार्टी स्थायी कमिटीको बैठकपछि बोल्दै उनले पार्टी विलय वा एकीकरणका हल्लामा नलाग्न आग्रह गरे । बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको र यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्ला मात्र भएको उनको दाबी छ ।

एमालेसँग एकता हुनेबारे पार्टीमा हालसम्म कुनै छलफल नचलेको र अहिलेको सन्दर्भमा कुनै पनि पार्टीसँग एकता नगर्ने पक्षमा पार्टी रहेको नेताहरूको भनाइ छ । ‘वाम एकता गर्ने, एजेण्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुचि छ । यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदै छ भन्ने कुरा निराधार हल्ला मात्र हो,’ प्रवक्ता खतिवडाले भने, ‘आम जनतालाई म यही कुरा सुसूचित गर्न चाहन्छु ।’

साथै बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको निष्कर्ष निकालेको छ । पूर्व सत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका नरहेको नेकपा एसको जिकिर छ ।

सरकारमा जाने/नजाने निर्णय आज गर्ने
पार्टीले आजसम्ममा प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने भएको छ । पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको हो ।

‘अहिलेसम्म सरकारको बारेमा हाम्रो नीति भनेको पर्ख र हेर भन्नेमा छ । समसामयिक राजनीतिक विषयमा अध्यक्ष र सम्मानित नेताले बोल्नुभयो । अन्य सदस्यहरूले बल्ल बोल्न सुरु गर्नुभएको छ,’ स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले भने, ‘आजसम्म यस विषयमा औपचारिक निर्णय गर्नेछौँ ।’

उनकाअनुसार सरकारमा जाने वा नजाने विषय पोलिटब्युरो बैठकसम्ममा पुगेर रायसल्लाह लिने काम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *