पूरा भयो पोखरेलीको ५० वर्ष पुरानो सपना

प्रधानमन्त्री प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने

पोखरा । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गर्दा राजा वीरेन्द्रले सुरुमा अस्वीकार गरे । ७ दिनपछि उनै वीरेन्द्रले पाठकलाई बोलाएर वृत्तान्त सोधे, पाठकले यहाँको आवश्यकता र भावी रणनीति सुनाए । अन्ततः वीरेन्द्र उनका कुरामा राजी भए ।

२०३२ सालमा पाठकले अघि सारेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावले मूर्त रूप लिएको छ । २२ अर्ब लागतमा विमानस्थल निर्माण भएसँगै पोखरेलीको करिब ५० वर्ष लामो सपना पूरा भएको छ । निर्माण सकिएको विमानस्थल आज उद्घाटन हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकी सहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी -याली आयोजना गरिने मेयर धनराज आचार्यले बताए ।

अहिलेसम्म प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान भने नहुने भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौँबाट एयरबस ३२० पोखरामा अवतरण गर्नेछ । पोखराबाट अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन ।

तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्ब लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *