के पोखरा एयरपोर्ट वान बेल्ट वान रोडको परियोजना हो ?

पोखरा । निर्माण नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गत चैतमा चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका समयमा निर्माण कम्पनी सिएएमसीईले एयरपोर्ट हस्तान्तरण गरेको हो ।

काठमाडौँ र पोखरामा छुट्टाछुट्टै कार्यक्रम गरेर विमानस्थल हस्तान्तरण भयो । यीले काठमाडौँको प्रधानमन्त्री निवासमा विमानस्थलको चाबी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे ।

यता पोखरामा पनि भव्य कार्यक्रम भयो । निर्माण कम्पनी सहित पर्यटन मन्त्रीहरूको उपस्थिति पोखरामा थियो । उद्घाटन समारोहमा निर्माण कम्पनीका अध्यक्षले दिएको भाषण अहिले विवादित भएको छ । उनले तत्कालीन समयमा पोखरा एयरपोर्ट चीनको वान बेल्ट वान रोड इनिसियटिभको परियोजना भएको भाषण दिएका थिए ।

‘चीन र नेपाल छिमेकी मित्र राष्ट्र हुन् । सुन्दर हिमशृङ्खलाले एकसाथ जोडेको छ । पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना तथा चीन र नेपाल सरकारबीचको वान बेल्ट वान रोड सहकार्यको प्रमुख परियोजना हो,’ उनले भनेका थिए । उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान हुने प्राधिकरणले जनाएपनि अन्तिम चरणमा भारतले स्वीकृति नदिँदा विदेश उडान हुन सकेन ।

१ महिना अघि नै बुद्ध एयरले नेपालको सबै प्रक्रिया पूरा गरेर भारत सरकारसँग बनारसमा उडान अनुमति मागेको थियो । तर उसले पाएन । अहिले पोखरेलीहरुबीचमा भारतले अनुमति नदिनुमा शंकाको दृष्टिले हेरेका छन् । ‘यो विमानस्थलमा पूरै चीनको संलग्नता छ । ऋण पनि चीनबाट, निर्माण कम्पनी पनि चीनकै,’ एक जानकारले भने, ‘विमानस्थल हस्तान्तरणमा वान बेल्ट वान रोड इनिसिइटीभको परियोजना भनेका कारण पनि भारतले अनुमति नदिएको हुन सक्छ । यसको रणनीतिक प्रभाव छ ।’

उद्घाटनको तयारीबारे जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा पनि यस विषयमा कुरा उठेको थियो । एक पत्रकारले प्राधिकरणलाई साधे, ‘विदेशका धेरै एयरलाइन्स कम्पनीले जहाज उडाउन चासो दिएका छन् । तर भारतीय कम्पनीको चासो किन आएन ?’ जवाफमा प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘इण्डियन जहाजको कुरा फरक छ । मसँग भन्दा उहाँहरूसँग खेल्ने ठाउँ धेरै छ । म नियम कानून कार्यान्वयन गर्ने ठाउँमा छु । डिप्लोमेटिक उत्तर दिने लेबलमा म छैन ।’

धेरैले रुटका विषयमा पनि प्रश्न उठाएका छन् । तर गौतमले यो अहिलेको समस्या नभएको बताए । ‘रुटको कुरा समस्या होइन । टेक्नोलोजीले सर्पोट ग-यो भने अर्को रुट लिन सकिन्छ,’ उनले जहाज १८ घण्टासम्म उडाउने तयारीका साथ लागेको बताए । तर अन्तर्राष्ट्रिय उडान कहिलेबाट भन्ने उत्तर उनले दिएनन् । ‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौँ, कहिले बिक्री हुन्छ थाहा छैन,’ गौतमले भने, ‘जतिसक्दो छिटो यहाँबाट अन्तर्राष्ट्रिय फ्लाइट हुने विश्वास छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *