गोरखाबाट सुरु भयो एकीकरण यात्रा (तस्बिरसहित)
पोखरा । गोरखाबाट यो वर्ष पनि एकीकरण यात्रा सुरु भएको छ । नेपाली सेनाको रिपुमर्दन गणले गोरखादेखि काठमाडौँसम्मको यात्रा तय गरेको हो । गोरखा राज्य विस्तारका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्गको रूपमा विकास गरेको हो ।
गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट सुरु भएको यात्रा धादिङबाट नुवाकोट हुँदै काठमाडौँ पुग्ने छ । यात्रामा पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका नेपाली सेनाको टोली सहभागी छ । २६ कोषको दूरी पुस २७ गते पूरा हुने छ ।
पृथ्वी जयन्तीकै अवसरमा उक्त यात्रा सुरु गरिएको रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिए । बिहीबार एक विशेष कार्यक्रमका बीच नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपक कुमार बानियाँले राष्ट्रिय झण्डा तथा टर्च रिपुमर्दन गणलाई हस्तान्तरण गरेपछि यात्रा सुरु भएको हो ।
श्रीनाथ, कालिबक्स, पुरानो गोरख, सबुज र बर्दबहादुर नामक सेनाको कम्पनीका झण्डा सहित उक्त टोली धादिङ तर्फ लागेको छ । पहिलो दिन गोरखा र धादिङको सीमानामा पुगेर शिवदल गणलाई हस्तान्तरण गरिने छ ।
धादिङ खण्डमा शिवदल गणले दुई दिन लगाएर नुवाकोटको जबरजङ गणलाई हस्तान्तरण गर्ने छ । जबरजङले एक दिन यात्रा गरेपछि टोली काठमाडौं पुग्ने छ । २६ गते हनुमानढोकाको शार्दूल जंग गुल्मलाई उक्त टर्च र झण्डा हस्तान्तरण गरिने छ । अहिलेको पुस्तालाई पृथ्वीनारायण शाहको योगदानबारे जानकारी दिन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उपरथी बानियाँले बताए ।