प्रदेश १ : सरकारमा जान माओवादीभित्र हानाथाप, जीवन आचार्यलाई मन्त्री हुन नदिन घेराबन्दी
विराटनगर । ‘राजनीति गर्नेहरूले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो ! त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’ यो भनाइ नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव तथा प्रदेश सभा सदस्य गणेश उप्रेतीकाे हाे । उनले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्ति हो याे । उनको यो भनाइले माओवादी भित्र सरकारमा जाने बारेमा देखिएको असन्तुष्टिलाई प्रतिबिम्बित गर्छ । यसरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेहरूमा उनी मात्र हैनन् उनी जस्ता थुप्रै नेता कार्यकर्ताको असन्तुष्टिहरू व्यक्त भएका छन् ।
प्रदेश १ मा सरकार बन्दै गर्दा नेताहरूले एकले अर्कोको खुलेरै विरोध गर्न थालेका छन् । आगामी पुस २४ गतेसम्म सरकार बनाउने बहुमत पेस गर्न प्रदेश प्रमुखको आग्रह अनुसार अब २ दिन मात्र बाँकी रहँदा दलहरू भित्र आन्तरिक किचलो देखिँदै आएको छ ।
सबैभन्दा बढी किचलो नेकपा माओवादीभित्र देखिएको छ। प्रदेश १ मा नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिच सरकार समीकरणको तयारी देखिन्छ । नेकपा एमाले मुख्यमन्त्री सहितको सरकार बनाउने तयारीमा देखिएको छ भने नेकपा माओवादी केन्द्र सत्तामा सबै भन्दा धेरै मन्त्री खोजिरहेको छ । तर कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने बारेमा सहमति अहिलेसम्म बनिनसकेको नेताहरूले नै बताउँदै आएका छन् । पछिल्लो समय माओवादी भित्र जीवन आचार्यले भौतिक पूर्वाधार मन्त्रालय सहित सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने दावी सहित आएपछि अन्य नेताहरू असन्तुष्ट देखिएका हुन् । पार्टीका जिम्मेवार नेताहरू समेत सामाजिक सञ्जाल मार्फत आफ्ना असन्तुष्टिहरू व्यक्त गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर ६(१) बाट निर्वाचित भएका आचार्य सरकारको नेतृत्व आफूले गर्नु पर्ने दावी सहित लविङ गर्दै आएका छन् ।
उनको यो लविङलाई माओवादीका जिम्मेवार पदाधिकारी माओवादीनिकटको पत्रकार संगठन प्रेस सेन्टरका प्रदेश १ अध्यक्ष विनोद घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामन्तवादी समाजकै पात्रहरू भएकाले हामी सबैमा त्यसको अवशेषहरू हुनु स्वाभाविक नै हो, अध्यक्ष प्रचण्डको ज्वाइँ जीवन आचार्यको माओवादी पार्टीमा जिम्मेवारीको छलाङलाई मैले पनि अध्यक्ष प्रचण्डमा भएको सामन्तवादको अवशेषको रूपमा लिएको थिए र छु ।’ उनले लेखेका छन्, ‘प्रचण्डका ज्वाइँ जीवन आचार्य प्रदेशको मन्त्री नै बन्ने र बनाउने कुरा चलिरहेको छ यदि जीवन आचार्य यहाँको मन्त्री बने भने उहाँमा (अध्यक्ष प्रचण्ड) मा सामन्तवादको अवशेष हैन भण्डार नै भएको पुष्टि हुन्छ ।’
यी सबै कुराहरूले नेकपा माओवादी संसदीय दलमा पनि तरंग ल्याएको छ। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रीय स्तरमा सहमति हुने विषय नै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि नबढेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नै आङ्बोले प्रदेश पार्टी र संसदीय दल भित्र कोही व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल प्रारम्भ नभएको बताउँछन् । ‘पार्टीको माथिल्लो निकाय वा पदाधिकारीहरूबाट कोही निश्चित पात्र विशेषको निम्ति कुनै प्रस्ताव,दबाब वा निर्देशन आएको छैन, उनले लेखेका छन् , जनताको बिचमा हजारौँ सपना बाँडेर निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले कार्यकारी निकायमा बसेर जनताको सेवा गर्ने चाहनालाई कसैले अन्यथा नठानौँ भ्रम र अफवाहको पछि नलागौँ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य जीवन आचार्यले आफू निर्वाचित भएर आएको जनप्रतिनिधिको नाताले कुनै पनि कार्यकारी पदमा दाबी गर्नुलाई कसैले अन्यथा लिन नहुने बताए । उनले मकालु खबरसँगको कुराकानीका क्रममा मैले कुनै कार्यकारी भूमिका खोजेँ वा मैले इच्छा व्यक्त गरेँ भन्ने कुराले कसैले पार्टीको नीति र विधि बाहिर गएर टिका टिप्पणी गर्न नहुने बताए । पार्टीमा भोलि संसदीय दले गर्ने निर्णय अनि पार्टीले दिने जिम्मेवारीका कुरालाई सबैले स्वीकार गरेर जानु पर्ने आचार्यको भनाई छ।