प्रेदश १ : मुख्यमन्त्रीमा एमाले–माओवादी आलोपालो
काठमाडौँ । प्रदेश नम्बर एकको मुख्यमन्त्री एमालेले लिएको छ । नेताहरुका अनुसार आधा कार्यकाल एमालेले नेतृत्व गरेपछि माओवादीलाई दिनेछ ।
साझेदार दलहरुका बीचमा शनिवार साँझ भएको छलफलले पदेश एकका विषयमा सहमति जुटाएको नेताहरुले बताएका छन् । सहमति अनुसार एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरे । संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदले समर्थन दिएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ सांसद छ । कतै नखुलेको नेकपा एकीकृत समाजवादी ४ सिट छ ।
कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
पहिलो कार्यकाल एमालेले नेतृत्व गर्ने र दोस्रो कार्यकाल माओवादीले नेतृत्व गने सहमति भएको छ । यस अनुसार पहिलो चरणमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् भने दोस्रो कार्यकाल आफू मुख्यमन्त्री बन्ने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आंबोले बताए ।
‘यस प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भयो । पहिलो कार्यकाल एमालेले लिने दोस्रो हामीले लिने सहमति भयो’ आंबोले भने, ‘आलोपालो मुख्यमन्त्री हुने सहमति भयो । मन्त्री हुन्न बाँकी २ वर्ष जति पार्टीकै काम गर्छु ।’