सरकारमा नजाने आङ्बोको अभिव्यक्तिले माओवादीभित्र खटपट

‘सरकारमा जाने कुरालाई यहाँको कुराले रोकिँदैन’

विराटनगर । नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

आइतबार प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो २ बजेलाई शपथग्रहणको समय मिलाएको छ । त्यसैको आधारमा मन्त्रीहरूलाई आज शपथ गराउने कार्यक्रम रहेको छ । नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी सरकारमा नजाने भन्ने अभिव्यक्ति दिएपछि त्यसको माओवादी भित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ ।

मन्त्रीको लागि शपथग्रहण गर्न जाने तयारीमा रहेका नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य दुर्गा चापागाईँ केन्द्रको निर्णय मानेर जानु पर्ने बताउँछन् । सरकारमा नजाने निर्णय आधिकारिक नभएको बताएका चापागाईँले यस बारेमा छलफल गर्न १२ बजे बैठक बोलाइएको जानकारी दिए । ‘केन्द्रमा भएको सहमति अनुसार सरकारमा जान केन्द्रले गरेको निर्णयलाई मानेर जानु पर्छ,’ उनले भने, ‘सरकारमा जाने कुरालाई यहाँको कुराले रोकिँदैन ।’

आजै नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बो मन्त्री बन्दैछन् । त्यस्तै राप्रपाबाट भक्ति सिटौलालाई मन्त्री बनाउने तयारी छ । नेकपा माओवादीबाट दुर्गा चापागाईँ मन्त्री बन्ने पक्का भएको थियो भनेँ जीवन आचार्य र गणेश उप्रेतीका बिचमा आन्तरिक विवाद हुँदा मन्त्रीमा कसलाई पठाउने भन्ने अन्योल देखिएको थियो । यी दुई नेता बिचको विवादले समेत तत्काल माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हुनसक्ने बताइएको छ। त्यस्तै जनता समाजवादी पार्टीबाट निर्मला लिम्बु मन्त्री बन्दैछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *