हिजोका कमीकमजोरी सच्याउँदै प्रदेशलाई बलियो बनाउन लागौँ : मुख्यमन्त्री कार्की
२०७९ पुस २६ गते
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट भएका हिजोका कमीकमजोरीलाई हेरेर त्यसलाई सच्याएर लग्ने बताएका छन् । हिजोका कमीकमजोरीका कारण नागरिक तहबाट हुँदै आएको गलत टिका टिप्पणीहरूमा जनतालाई बुझाएर जानु पर्ने बताए । प्रदेश संरचना नागरिकको सेवा प्रवाहसँग जोडिएकोले त्यसलाई प्रभावकारी बनाउन तर्फ सबै लाग्नु पर्नेमा जोड दिए । प्रदेश सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै कार्कीले प्रदेश संरचनाको पाँच बर्से आवधिक समीक्षा हुनसक्ने तर यो खारेज गर्नु पर्छ भनेर हल्ला चलाउँदै हिँड्न किमार्थ नसुहाउने बताए ।
प्रदेशको नामकरणको बारेमा ठुलो आलोचना भोग्दै आएको बताएका मुख्यमन्त्री कार्कीले यो नाम ठिक हो भनेर पास गर्न पनि नसकेको र नयाँ नाम पनि दिन नसकेको स्वीकार गर्दै मुख्यमन्त्री कार्कीले हिजोको असफलताको जिम्मेवारी अहिलेको प्रदेश सभामा आएको सुनाए । प्रदेश सरकारको प्राथमिकता प्रदेश नामकरणको विषय भएकोले सबै दलहरूसँग साझा सहमतिको आधारमा टुंगो लगाएर जाने बताए । सरकारको आगामी दिनको योजनाको बारेमा जानकारी दिँदै न्यूनतम साझा कार्यक्रमको माध्यमबाट सुशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता हुने बताए ।
‘पर्यटन अर्को महत्त्वपूर्ण प्राथमिकता रहेको छ, उनले भने, धेरै धार्मिक तथा पर्यटकीय हिम शृङ्खलाहरू रहेको प्रदेशमा पर्यटनको महत्त्वपूर्ण क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्नेछ ।’ उनले कृषि, प्रदेशको आर्थिक सामाजिक रूपान्तरण पनि प्राथमिकतामा रहेको बताए ।
२०७९ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित