कस्तो थियो पोखराको मौसम ? किन भयो जहाज दुर्घटना ?
पोखरा । आज बिहानैदेखि पोखराको मौसम निकै राम्रो थियो । हुस्सु र बादल थिएन । १० बजेर ३२ मिनेटमा उडान भएको जहाज १० बजेर ५८ मिनेटमा अवतरण हुनुपर्ने थियो । सोही जहाज आजै पोखरा आएर पोखराबाट काठमाडौँ फर्किएको थियो ।
तेस्रो फ्लाइट गरेको उक्त जहाज पोखरा टावरसँग निरन्तर सम्पर्कमा थियो । टावरले ल्याण्डिङ क्लियरेन्स पनि दिएको थियो । तर केही समयपछि जहाज सेती नदीको खोँचमा दुर्घटना भयो ।
विमानस्थलका अनुसार फाइनल अवस्थामा जहाज अवतरण गर्ने क्रममा थियो ।
पोखरा टावरसँग कुरा गर्दा पाइलटले कुनै टेक्निकल समस्या सुनाएनन् । अरू समस्या जानकारी गराएका थिएनन् ।
‘कुनै जहाजमा खराबी आयो भने हामीसँग सहयोग माग्छ । फायर फाइटर र सहयोगी पटाउँथ्यौँ । आर्मी र प्रहरी परिचालन गथ्र्यौं,’ विमानस्थल भन्छ, ‘तर आज कुनै सहयोगी माग्नुभएको थिएन ।’
ब्ल्याक बक्स भेटेपछि मात्रै थप स्पष्टता आउने प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । ‘भ्वाइस रेकर्डरहरु भेटिएपछि पाइलटका कुराकानीका आधारमा केही भन्न सकिएला । अहिले बोल्ने अवस्था छैन,’ उनले भने ।