पोखरा विमान दुर्घटना : ज्यान गुमाउने अधिकांश दम्पती र एकै परिवारका
पोखरा । पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश दम्पती छन् ।
बाँकी पनि एकाघरका सदस्य छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको छ । उनीहरूका १० महिने छोरा पनि दुर्घटनामा परे । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनीहरू माघेसंक्रान्ती मनाउनका लागि घर आउँदै थिए ।
पहिचान खुलेका मध्ये पोखरा २५ हेमजाका राजन सापकोटा र उनकी श्रीमती आशिका सापकोटा पनि सोही जहाजको दुर्घटनामा प्राण गुमाए । राजन केही दिनअघि अमेरिकाबाट नेपाल आएका हुन् । आशिका उनलाई लिन काठमाडौँ गएकी थिइन् । अघिल्लो वर्ष विहे गरेर अमेरिका गएका राजन फर्किँदा ९ महिना भएकोले माघ कुरेका हुन् ।
‘नेपाली समाजमा ९ महिनामा घर फर्किनु हुँदैन भन्ने चलन छ । राजन केही दिनअघि नै काठमाडौँ आए पनि परिवारले माघ लागेपछि मात्रै घर आउन सुझाव दिएका थिए,’ उनका छिमेकीले भने, ‘माघ लागेपछि १० महिना लाग्यो । त्यसैले उनी पोखरा आउन लागेका हुन् ।’
हेमजाकै जितेन्द्र कुँवर र उनकी श्रीमती भगवती कुँवरको पनि दुर्घटनामा निधन भयो । छोरी डाक्टर पढेर पोखरामा जागिर खाने नाम निकालेपछि उनीहरू छोरी लिन काठमाडौँ गएका थिए । छोरी र छोरा कोठाको सामान लिएर गाडीबाट पोखरा आए । कुँवर दम्पती प्लेनबाट पोखरा आउँदै थिए ।
माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाका बेलबहादुर गुरुङ र उनकी श्रीमती सीता गुरुङ पोखरा आउने क्रममा जहाज दुर्घटनामा परे । दुवईबाट आएका श्रीमान् लिन सीता काठमाडौँ गएकी थिइन् ।
काठमाडौँमा दुई जना भेटेर पोखरा फर्किन लागेका थिए ।
माछापुच्छ्रे गाउँपालिकाकै वडा नम्बर ७ धम्पुसका शिवकुमार गुरुङ र अनुशा गुरुङ अस्ट्रेलियाबाट केही दिनअघि मात्रै काठमाडौँ आएका हुन् । उनीहरू जहाजमा पोखरा आउँदै गर्दा घर नपुग्दै अस्ताए ।
दुर्घटनामा पर्वत कुश्माका ४६ वर्षीय अरुण पौडेल र उनकी ११ वर्षकी छोरी प्रसिद्धि पौडेलको पनि मृत्यु भएको छ । प्रसिद्धि काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्थिन् । पौडेल छोरी लिन काठमाडौँ गएको बताइएको छ । उनी गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार थिए ।
कुश्मा १ का रचना काफ्ले र रिहान पौडेल आमा छोरा हुन् भने विहादी गाउँपालिका ५ उराम पोखराका जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबी शर्मा एकै परिवारका हुन् । उनीहरू क्रमशः आमा, छोरा, नाती र नातिनी रहेको पुष्टी भएको छ ।
दुर्घटनामा ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका थापा काठमाडौँमा परिवारलाई भेटेर कर्म क्षेत्र पोखरा फर्किँदै थिए । अरूको खोजी भइरहेको छ ।