मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, सभामुखका लागि निर्वाचन
जनकपुरधाम । मधेश प्रदेशसभा आजको बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि निर्वाचन हुने भएको छ ।
प्रदेशसभा सचिवालयले सोमबारका लागि बैठक डाकिएको थियो । पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि सोमवार शोक दिएकाले बैठक स्थगित गरिएको थियो ।
हिजो स्थगित बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र प्रस्तावित सभामुखहरूको सूची निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
सत्ता साझेदार दलहरूको समर्थनमा जसपा संसदीय दलका नेता यादवले पुस २७ मा मुख्यमन्त्री नियुक्त भए । २९ गते पद तथा गोपनीयताको शपथ लिएका उनले आज विश्वासको मत लिने तयारीमा छन् ।
यस्तै सभामुखका लागि सत्ता साझेदार दलहरूको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी दल कांग्रेसका जंगीलाल राय उम्मेदवार बनेका छन् । लोसपा मण्डललाई समर्थन गरिसकेको छ भने नेकपा एस कुनै निर्णय गर्न सकेको छैन ।
प्रदेश सभामा एमालेका २४ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँच स्वतन्त्र सांसद छन् ।