विना विभागीय मन्त्रीले अझै पाएनन् जिम्मेवारी
विराटनगर । प्रदेश १ को सरकार गठन भएको एक हप्ता नाघीसक्दा पनि अझै मन्त्रीहरूले जिम्मेवारी पाउन सकेका छैनन् । गत पुस २४ गते प्रदेश प्रमुख परशुराम खापुङलाई बहुमत सदस्य सहित सरकार बनाउने प्रस्ताव लिएर गएको नेकपा एमाले संसदीय दलले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।
सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कार्की सहित अन्य ३ जना मन्त्रीले २५ गते प्रदेश प्रमुखको कार्यालयमा शपथ लिए । मुख्यमन्त्री कार्की सहित एमालेका तिलप्रसाद मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादीकी एक मात्र सांसद निर्मला लिम्बुले मन्त्रीमा शपथ लिएका थिए । उनीहरूले शपथ लिएको ४ दिनपछि मन्त्री परिषद् बिस्तार भयो । नेकपा माओवादी केन्द्रका २ र एमालेका १ जना गरी ३ जनाले मन्त्रीले शपथ लिए ।
नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रका दुर्गा चापागाईँ र जीवन आचार्यले मन्त्रीको रूपमा शपथ लिएका थिए । प्रदेश १ मा ७ सदस्य मन्त्री परिषद् बिस्तार भएको छ । पहिलो मन्त्री मन्त्री परिषद्को बैठकले प्रदेश १ को अहिले रहेको प्रदेश मन्त्रालयको संरचना घटाएर ९ वटा मन्त्रालय मात्र कायम गर्ने भनिएपछि मन्त्रीहरूले अझै जिम्मेवारी पाउन सकेका छैनन् ।
गत पुस २५ गते नै मन्त्री पदमा शपथ लिएकी निर्मला लिम्बुले अहिलेसम्म मन्त्रीको हैसियतमा कुनै काम गर्न नपाएको बताइन् । ‘हामीलाई मुख्यमन्त्री कार्यालयमा नै एउटा कार्यकक्ष उपलब्ध गराइएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै जिम्मेवारी पाइएको छैन, अब आज भोलिमा नै जिम्मेवारी दिने भन्ने सुनेको छु ।’ मन्त्री परिषद्का कुनैपनि सदस्यले अहिलेसम्म आफ्नो मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । राप्रपाबाट मन्त्री भएका भक्तिप्रसाद सिटौला चाँडै मन्त्रालय पाउने बताउँछन् ।
मन्त्रालयको संरचनामा गर्न लागिएको हेरफेरको कारण जिम्मेवारी नपाएको हुनसक्ने विना विभागीय मन्त्रीहरू बताउँछन् । सरकारले प्रदेश १ को मन्त्रालयको संरचना सम्बन्धमा व्यवस्था गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा समिति गठन भएको छ ।