तेस्रो प्रयासमा पायो सुदूरपश्चिमले सभामुख, माओवादीका भण्डारी निर्वाचित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरूले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ । उनले २९ मत पाएका हुन् । ५२ जना प्रदेश सभा सदस्यले आज मतदान गरेका छन् ।
काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन् । सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।