कोशी अस्पतालमा जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि…..
विराटनगर । विराटनगरका एक डाक्टरले ज्युँदै नवजात शिशुलाई मृत घोषणा गरिदिएका छन् । कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा।आकाश यादवले बिरामी भएर अस्पताल ल्याएका जिउँदै नवजात शिशुलाई मृत घोषणा गरिदिए कोशी अस्पतालमा विवाद भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले स्वास्थ्य उपचार राम्रोसँग नगरी जीवित बच्चालाई मृत घोषणा गरिदिएका हुन् । मोरङको जहदा गाउँपालिका ३ भाथिगञ्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् ।
सामान्य डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिईन् । १ किलो चार सय ग्राम तौल रहेको शिशुको बच्चा सहित उमा विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा माइती घर बस्दै आएकी थिईन् । शिशुमा श्वास प्रश्वासमा समस्या देखिएपछि बुधवार मुखिया दम्पतीले कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर गएका थिए । त्यो समयमा मेडिकल अफिसर डा। आकाश यादव तथा अहेवहरू लक्ष्मण माझी र टिका भण्डारी आकस्मिक कक्षमा कार्यरत थिए ।
तिनै मेडिकल अफिसर यादवले शिशुको स्वास्थ्य परीक्षण गरेको उमाका श्रीमान दिलीप मुखियाले बताए । परीक्षण गर्ने बित्तिकै ती डाक्टरले छोरीको सास छैन भनेर घर लैजानु भनेपछि आकस्मिक कक्ष बाहिर रुवाबासी सुरु भएको थियो ।
दिलीपले श्रीमतीलाई समाते जेठानी दिदीले छोरीलाई आकस्मिक कक्षबाट बाहिर लिएर आएको उनले बताए । ‘त्यही बेला छोरीले हातखुट्टा हल्लाइन्, दिलीपले भने, त्यसपछि थाहा भयो छोरी जिउँदै रहिछे ।’ डाक्टरको लापरबाहीले ज्युरो बच्चालाई मृत घोषणा गरेको दिलीपले बताए । अहिले दिलीपले छोरीलाई नजिकै रहेको गोल्डले अस्पतालमा भर्ना गरेका छन् । शिशुको एनआइसियूमा राखेर उपचार सुरु गरिएको दिलीपले बताए ।
उपचारमा लापरबाही गरेको भन्दै आकस्मिक कक्षको डा.आकाश यादवमाथि स्थानीयले कुटपिट गरेका छन् । जिउँदै बच्चालाई मृत घोषणा गरेको भन्दै आक्रोशित भएका आफन्तहरूले यादवलाई कुटपिट गरेको कोशी अस्पताल प्रशासनले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा तीनपनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले घटनाको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।