जीवित शिशुलाई मृत घोषणा गर्ने तीन जना निलम्बित, छानबिन समिति गठन

विराटनगर । कोशी अस्पतालमा १७ दिने शिशुलाई मृत घोषणा गरेको विरुद्धमा युवा संघले कोशी अस्पतालमा प्लेकार्ड सहित चिकित्सक र मेसुलाई कारबाहीको माग गरेको छ। कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. आकाश यादव, पारामेडिकल अधिकृत लक्ष्मण माझी र टिका भण्डारीलाई कारबाहीको माग गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल विराटनगर नगर कमिटीको अगुवाइमा जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर, कर्मचारी र मेडिकल सुपरिन्टेन्डेन्ट समेत कारबाही गर्नु पर्ने माग गरिएको छ । युवासंघ नेपाल विराटनगरको नेतृत्वमा कोशी अस्पतालमा गम्भीर ध्यानाकर्षण गराउनुका साथै दुई दिन भित्र सम्बन्धित व्यक्तिलाई कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको युवा संघले जनाएको छ। यसैबिच जीवित शिशुलाई मृत घोषणा गरिएको सम्बन्धमा छानबिन गर्न तीन सदस्य छानबिन समिति गठन गरिएको छ ।

अस्पतालको आकस्मिक कक्षमा बुधवार उपचारका लागि ल्याइएकी जहदा–३ भाथीगछका दिलीप मुखियाको शिशुलाई डा यादवले मृत्यु भएको घोषणा गरेका थिए । केही बेरपछि शिशुले हाट खुट्टा हल्लाएपछि बिरामीका आफन्त आक्रोशित भएका थिए । आक्रोशित भिडले डा यादवलाई कुटपिट गरेको थियो ।

घटनाको बारेमा छानबिन गर्न अस्पतालका बालरोग विशेषज्ञ डा। प्रवीण झाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । समितिमा बाल रोग विशेषज्ञ डा। सूर्यकान्त चौधरी र प्रशासनका अधिकृत तथा सूचना अधिकारी रामप्रसाद नेपाल सदस्य रहेका छन्। समितिले अन्तिम प्रतिवेदन नबुझाएसम्म स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको कोशी अस्पतालका मेसु लक्ष्मीनारायण यादवले जानकारी दिए ।

निलम्बनमा पर्नेमा घटनामा संलग्न ३ जना छन् । अस्पतालका पारामेडिकल अफिसर टिका भण्डारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै ७ दिनका लागि निलम्बन गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट यादवले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *