आगलागीमा परी ज्यान गुमाएका निराकारको शव आज नेपाल आइपुग्ने

काठमाडाैँ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज नेपाल आइपुग्ने भएको छ ।

क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव आज राति १०ः३० बजे काठमाडौँं आइपुग्ने र राति नै शव झापा पुर्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव भाेलि  झापा पुग्नेछ ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *