प्रदेश १ का मन्त्रीले पाए जिम्मेवारी, कुन मन्त्रालय कसले पायो ?
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूको कार्य विभाजन गरेका छन् ।
गत पुस २५ गते मन्त्रीपरिषद् विस्तार गरेका कार्कीले आजैदेखि लागु हुनेगरि मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरेका हुन् ।
नेपालको संविधानको धारा १६९ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको सिफारिसमा गठन भएको प्रदेश मन्त्री परिषद्को सदस्यहरूको नियुक्ति हेरफेर र कार्य विभाजन गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ। आज साँझ बसेको मन्त्री परिषद्को बैठक पछि मन्त्रीहरूको कार्य विभाजन गरिएको हो ।
जिम्मेवारी तोकिए अनुसार तिलकुमार मेन्याङ्बोलाई खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भक्तिप्रसाद सिटौलालाई उद्योग कृषि तथा सहकारी मन्त्रालय, जीवन आचार्यलाई पर्यटन वन तथा वातावरण मन्त्रालय दिइएको छ ।
त्यस्तै बुद्धिकुमार राज भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँले राखेका छन् ।