किसानको रोजाइमा व्यावसायिक जडीबुटी ‘सतुवा’ खेती

भोजपुर । राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइमा परेको छ । बहु उपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आकर्षण बढेको हो ।

अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सेपिलो क्षेत्रमा बढी फस्टाउने सतुवा खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो आवश्यक पर्ने किसानहरि बताउँछन् ।

टेम्केमैयुङ गाउँपालिकाको–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं–१० बोयाको माथिल्लो भेगका साथै आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा तीन सय बढी किसानले सतुवाको व्यावसायिक खेती गर्दै आएका छन् ।

एक हजार चार सय मिटर उचाइ भन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि लाभदायक मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरू बताउँछन् ।

क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि यसको सेवन उपयोगी हुने गरेको छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको अवस्थामा पनि यसको प्रयोग गर्न सकिने किसानहरूको भनाइ छ ।

केही वर्ष अघिसम्म प्रतिकिलो १८ देखि २२ हजारमा बिक्री हुने गरेकामा अहिले यसको मूल्यमा केही गिरावट आएर प्रतिकेजी आठदेखि दश हजारसम्म बिक्री हुने गरेको किसानहरि बताउँछन् ।

अहिलेको मौसम सतुवा टुसाउनका लागि उपयुक्त मानिन्छ । भदौ, असोजमा फूलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिनमा रहेको गानो भने माघ, फागुनमा पुनः पलाउने गर्दछ । यसको गानो खनेर सुकाएपछि बिक्री गरिन्छ । एउटा बिरुवा रोपेको दुईदेखि तीन वर्षमा यो फूल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै ठाड दिने गर्दछ ।

अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आए पनि किसानले अहिले पनि खेती गरिरहेको भन्दै यो किसानहरूका लागि नगदी आम्दानीको स्रोत बनेको टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताए । “हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ”, उनले भने, “अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, आफूले खानपनि सतुवालाई लाभदायक मानिन्छ ।”

सतुवासँगै विष्टले व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहेका छन् । “व्यावसायिक रुपमा काम गर्न सके विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी लिन सकिन्छ” विष्टले भने । करिब १२ रोपनी क्षेत्रमा किबी खेती समेत गरेका विष्टको सतुवा खेतीबाट मात्रै वार्षिक रु चारदेखि पाँचलाखसम्म आम्दानी हुने गरेको छ । किबीले भने यस वर्षबाट मात्रै फलदिने उनको भनाइ छ ।

सतुवाको बिरुवा प्रतिगोटा २० देखि एक सय ५० रुपैयाँसम्म, सतुवाको बीउ प्रतिकेजी रु एक लाख र गानो प्रतिकेजी दश हजारदेखि रु बाह्र हजारमा बिक्री हुने गरेको किसान मानबहादुर राईले जानकारी दिए । सतुवाको बीउ तथा बिरुवाको सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङलगायतका क्षेत्रमा पनि माग भएको उनले बताए ।

षडानन्द नगरपालिका–१३ भिरथाप्लाका स्थानीय किसान पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिक रुपमा नै खेती गर्दै आएको बताए । “सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ” शेर्पाले भने, “यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ । बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ । त्यही भएर पनि पछिल्लो समय सतुवा खेतीमा किसानको आकर्षण बढेको छ ।”

यहाँ चिराइतो, सतुवा, सेतक चिनी, सेती गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बलगायत जडीबुटी पाइन्छ । ती जडीबुटी विशेष गरी भारत र चीनमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *