गृहमन्त्री रवि लामिछानेले केटाकेटीपनको प्रदर्शन हुन् ? : कांग्रेस सांसद, रामहरि खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ प्रति आपत्ति जनाएका छन् ।
खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् । उनले भने ‘नेपालको प्रहरी प्रशासनले गृहमन्त्रीलाई टेर्न छाडेको हो ?’ भन्दै प्रश्नसमेत तेर्साएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले यसबारे गृहमन्त्रीसँग जवाफ पनि माग गरेका छन् । उनले भने, ‘गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको छ । नेपालको इतिहासमा अपराधीलाई प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सुरुवात भएको छ । प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटी सुरु भयो भने देश कहाँ जाने हो ? बडा चिन्ताको विषय भयो ।’
साथै खतिवडाले गृहमन्त्री रवि लामिछानेले केटाकेटीपनको प्रदर्शन गरेको पनि जिकिर गरे ।
खतिवडाले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्दै भने, ‘के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्परा सुरु भएको हो ? के अझै पनि जनतालाई ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ? यसरी अपराधी पक्रन सकिन्छ ? यसरी सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो ?’
उनले संसद्मा विश्वासको मत दिँदा सांसद कोइरी उपस्थित भएको तर उनलाई पक्राउ गर्न नसकिएको स्मरण गराए ।
खतिवडाले मान्छे पक्रन नसक्ने अनि सूचना जारी गर्ने भन्दै गृहमन्त्रीको आलोचना समेत गरे ।