संसदीय मर्यादा विपरीत संसद्मा सीके राउतले मौनधारण गर्न लगाए : राजेन्द्र लिङ्देन
काठमाडौँ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा आफैँले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको आरोप लगाएका छन् ।
गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै मौन धारण गर्न लगाएका थिए ।
उक्त कार्य संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङ्देनले बताए ।
लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे ।
लिङ्देनले भने, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका शहीदहरूका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठ्ने र नउठ्नेको विषय बाहिर प्रचारमा आइरहेको छ । सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिए । हामी उठेनौँ । यसको अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाहिँ सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसद्को एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसद्मा आएको मैले बुझिन भने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोड्दैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नुपर्यो । कि मेरो प्रधानमन्त्री उठ्नु पर्यो । त्यस कारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भङ्ग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसद्ले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढङ्गले गलत कुरा लैजान पाइँदैन ।’
उनले उक्त घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने समेत जिकिर गरे ।
Ha ha ha…….😂😂😂