रास्वपाकी इन्दिरा राना उपसभामुखमा निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छिन्
शनिबार रानालाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।
रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका थिए ।
त्यस्तै, नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।
यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे थिए भने, समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका थिए ।
सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए ।
मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।
उपसभामुख पदको निर्वाचनमा अनुपस्थित सदस्यहरू :
१. वर्षमान पुन (बिरामी)
२. कृष्णकुमार श्रेष्ठ
३. धनबहादुर बुढा
४. धवलशमशेर जबरा
५. बिनाकुमारी थनैत
६. मनोरमा शेरचन
७. राजेन्द्र प्रसाद पाण्डे
८. सपना राज भण्डारी
९. लक्ष्मी महतो कोइरी
१०. टेकबहादुर गुरूङ (निलम्बित)
११. सभामुख (मतदानमा सहभागी नभएको)