मेयर हर्क साम्पाङले धरानमा डोजर चलाउँदा स्थानीयद्वारा ढुंगामुढा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अवैध रुपमा बनाइएका भौतिक संरचना भत्काउन डोजर चलाउन थालेका छन् । खास गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरलगायत संरचना भत्काउन मेयर साम्पाङले डोजर चलाउन थालेका हुन् । महानगरपालिकाले डोजर चलाउन थालेपछि स्थानीयले पनि प्रतिकार गर्न थालेका छन् ।

धरान महानगरपालिका वडा नम्बर ५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउने काम आइतबारबाट महानगरले सुरु गरेको थियो । महानगरको डोजरले स्थानीय मुना चौधरी लिम्बूले खोलासमेत अतिक्रमण गरेर बनाएको घर भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा डोजरको केही भागको सीसा फुटेको छ ।

धरान ५ को खारखोला र अँधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेर महानगरले उक्त क्षेत्रमा बनाइएका संरचना हटाउन पत्राचार गरेको थियो । तर, स्थानीयले संरचना हटाउन नमानेपछि डोजर चलाइएको महानगरको भनाइ छ ।

स्थानीयले भने आफूहरुले वर्षोंदेखि उक्त जग्गा भोगचलन गर्दै आएकोले खोलाको सीमांकन गर्न माग गर्दै प्रतिकार गरेका हुन् ।

घरधनीले अन्तरिम आदेश जारी गर्न माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको भए पनि अदालतले भने अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *