प्रदेश १ मा पर्यटनको ठुला योजना ल्याउन पुलको काम गर्छु : मन्त्री आचार्य
विराटनगर । प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश १ मा पर्यटनका मेगा प्रोजेक्ट बनाएर अघि बढ्नु पर्ने बताएका छन् । पदभार ग्रहण पछि मन्त्रालयमा कर्मचारीसँग अन्तरक्रिया गर्ने क्रममा मन्त्री आचार्यले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयले ‘मेघा प्रोजेक्ट’ र प्रदेश गौरवका आयोजना बनाएर अघि बढ्नु पर्ने बताए ।
काठमाडौँमा आएका पर्यटकहरूलाई प्रदेश १ मा ल्याएर पर्यटनलाई व्यवस्थित र प्रभावकारी पर्यटनको अवधारणा सहित अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ। आचार्यले प्रदेशमा तयार भएको ठुला पर्यटन परियोजनाको प्रस्ताव सङ्घीय सरकार समक्ष प्रस्तुत गरेर महत्त्वपूर्ण काम अगाडि बढाउन आफू लाग्ने बताए । शिक्षा, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक छ, उनले भने, प्रदेश सरकारले बनाउने पर्यटनका योजनाका लागि बजेट माग गर्न मैले पुलको काम गर्नेछु ।’
उनले कर्मचारीलाई नयाँ योजना निर्माणमा लाग्न निर्देशन दिए । वन क्षेत्रको विकास र सदुपयोग सँगै बहुमूल्य जडीबुटीहरूको उत्पादन, प्रशोधन र निर्यातको क्षेत्रमा पनि प्रदेश सरकारले योजनाबद्ध ढङ्गबाट काम अगाडि बढाउन आफूले लाग्ने बताए । उनले सुशासन र भ्रष्टाचार न्यूनीकरणमा कर्मचारी र राजनीतिज्ञ दुवै लाग्नु पर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीव राईले वन तथा वातावरण मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम, सङ्गठनात्मक संरचना, समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरूको बारेमा जानकारी गराए ।