हत्या आरोपित एमाले सांसद लक्ष्मी महतोलाई अपराधी नभन्न नेता महासेठको आग्रह

काठमाडौँ । नेकपा एमालेका नेता रघुवीर महासेठले महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधी भनेर नभन्न सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता महासेठले यस्तो आग्रह गरेका छन् ।

२०७२ भदौ २५ गते जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बीभत्स हत्या कोइरीकै अगुवाइमा भएको आरोप छ । त्यतीबेला असई विक सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत थिए । झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर निकाली धानखेतमा लखेटीलखेटी हत्या गरिएको थियो । उनको हत्यामा अगुवाइ गरेको आरोप कोइरीमाथि छ । त्यताका उनी मधेशी जनअधिकार फोरमका नेता थिए ।

असई विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो । जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको थियो। त्यसपछि कोइरी फेरि फरार भएका हुन् । मुद्दा महोत्तरी अदालतमा विचारधीन छ ।

तर, एमाले नेता महासेठले भने सांसद लक्ष्मी महतो कोइरीलाई अहिले पनि अदालतले दोषी करार नगरेको बताएका छन् । अपराधमा संलग्न भएको भन्दै आरोप लगाएर शंकाको घेरामा राखेर प्रहरीले थुनछेकका लागि मात्रै राख्न चाहेको उनले बताए । महतो अहिले पार्टीको सम्पर्कमा नरहेका भन्दै उनलाई समातेर घटनाबारे छानविन गर्न आफ्नो पार्टीले नछेकेको उनले बताए ।

‘लक्ष्मी महतोलाई हामीले दोषी करार गर्न मिल्दैन,’ उनले भने, ‘लक्ष्मी महतोलाई उहाँका क्षेत्रका जनताले लक्ष्मी जस्तै मानेर श्रद्धा र सम्मान गर्ने गरेका छन् । कोही मान्छे मन नपर्दैमा अपराधी करार गर्न मिल्दैन ।’

फोरमपछि जसपामा प्रवेश गरेका कोइरी पछिल्लो आम निर्वाचनमा एमालेबाट महोत्तरी १ बाट चुनाव लडे । फरार अवस्थामै उनले निर्वाचन लडेर उनी विजयी भए।

कोइरीले महोत्तरी–१ मा वारेसनामाबाट उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचारप्रसारमा पनि सहभागी भएनन् । तर, नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेललाई हराउँदै उनी २३ हजार ४०२ मतसहित उनी विजयी भए ।

मतगणना र विजयी घोषणासभामा पनि उनी सहभागी भएनन् । उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए । तर, उनले संसदमा उपस्थित भएर शपथ लिएका छन् । प्रहरीले उनलाई नसमातेपछि विपक्षी दल नेपाली कांग्रेस लगायत दलका नेताले विरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *