हुम्ला कहिले मोटर पुग्ला बसेको छु रहरैमा : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले कर्णालीको विकासमा राज्यले कुनै ध्यान नदिएको गुनासो गरेका छन् । नव निर्वाचित सभामुख तथा उपसभामुखलाई शुभकामना दिन संसदमा बोल्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
एउटा कथन छ, नेपाली समाजमा हामीले गीत सुन्ने गर्छौं– ‘रेलको बोटो पुग्दैछ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा…’ यो गीत मात्रै होइन । अहिले हामी कर्णालीका जनताको बाध्यात्मक स्थिति छ । यहाँ रेलको गुरा गरिन्छ । सुरुङ मार्गको कुरा गरिन्छ । फास्टट्रयाकको कुरा गरिन्छ । २०६३ साल चैत ३० गतेबाट सुरु भएको कर्णाली राजमार्ग अहिले ‘मृत्यु राजमार्ग’ बनेको छ । यो राजमार्गलाई स्तरोन्नती र अर्को वैकल्पिक राजमार्ग बनाउनको सट्टा १ रुपैयाँ १० पैसा कौडीको पनि बजेट हालिएको छैन । तपाइँले र यो सदनले भन्ने सक्नुपर्छ– कर्णालीका जनता यो देशका जनता हुन् कि होइनन् ? आज यही राजमार्गमा २०६६ सालदेखि आजसम्म १९७ जनाको मृत्यु भएको छ । ४३२ दुर्घटना भएका छन् । ८ सय जनाभन्दा बढी घाइते अवस्थामा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ खर्ब ६५ अर्बको बजेट हुँदा यो सडकमा १ करोड बजेट हालिएको छैन । कर्णाली यो देशभित्र पर्छ कि पर्दैन । १६ अगस्त २०२१ मा काबुलमा उडिरहेको बुमानमा अमेरिकी नागरिक झुण्डिँदा विश्वको ध्यान तानिएको थियो । तर, मेरो कर्णालीमा यही अवस्था हुँदा कसैलाई छुँदैन । जुम्लाको २९ सालमा बनेको विमानस्थलको स्तरोन्नतीका लागि १ करोड पनि छुट्याइँदैन । शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा कर्णाली पछाडि छ । देशै पछाडि छ । तर, मुखले मात्र यहाँ ठूला भाषण गरिन्छ ।’