इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् उपहार याेजना
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धतासमेत जनाएको छ ।
पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ। आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाई डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।’
कार्यक्रममा खड्काले भने, ‘हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनुभएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, हाम्रा ३ लाखभन्दा बढी मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरु तथा आमशुभचिन्तकको ठूलो सहयोग छ । म तपाइँहरुको यो सहयोग र विश्वासलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशीष गौतमले इसेवाले बुधवार भएको आफ्नो वार्षिकोत्सवमा इसेवाले सार्वजनिक गरेका अफरहरुका विषयमा जानकारी गराएका थिए । वार्षिकोत्सवका अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक अकाउन्ट इसेवामा लिंक गरेमा रु. १४० क्यासब्याक पाइनेछ ।
यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमन्ड अफर सञ्चालन हुनेछ। जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउनेछन् ।
त्यस्तै ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।
यस्तै १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ। यो अवधिमा होटेल बुक गर्दा विभिन्न होटेलमा कोठाहरु निःशुल्क प्राप्त गर्न सकिनेछ । १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ ।
यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ। यस अवधिमा मोबाईल टपअप, एयरलाइन्स टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
त्यस्तै ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ। यो अवधिमा रु. ५० सम्मको सतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
इसेवाले आफ्नो वार्षिकोत्सवका अवसरमा छात्रवृति कोषसमेत सञ्चालन गरेको छ । यसको राशि र प्रक्रियाका विषयमा केही समयपछि एक कार्यक्रममार्फत जानकारी गराउने इसेवाको भनाइ छ ।
इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ। १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ ।
यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । १४ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाका लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० भन्दा धेरै बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।