कविता

जैसी

भनिन्छ प्रेम अन्धो हुन्छ
भनिन्छ प्रेम अमर रहन्छ, भनिन्छ प्रेमले जात, वर्ण, भेष, भाषा, आदि इत्यादि मान्दैन
भनिन्छ प्रेम चोखो र निर्मल हुन्छ
उसले यही सिद्धान्तलाई आत्मसाथ गर्‍यो।

उसले मन पराएकी केटीसँग विवाह गर्न
न त उसको परिवारले स्वीकारोक्ति दियो
न त केटीको परिवारले मान्यो
समाजमा जडो गाडिएर बसेको
कुरीति र अन्धविश्वासले
ऊ ब्राह्मणको अन्तरजातीय विवाह स्विकारेन
उसले विरोध गर्‍यो

केही सिप नचलेपछि
भगाएर विवाह गर्‍यो
अनि भयो ब्राह्मणबाट तल झरिएको
ब्राह्मणवादबाट निष्कासन गरिएको
एक जैसी ।

उसले अब हवन गर्ने पाउँदैन
उसले छोएको कुरा पितृ कार्यमा संलग्न गर्न पाइँदैन
तर उ खुसी छ
किनकि उसले धर्मशास्त्रका पुस्तक पढेको छ
त्यसैले ऊ भन्छ
ब्राह्मणले अन्तरजातीय विवाह गर्दा जैसी हुने भए
क्षेत्रीय राजाका छोरी विवाह गर्ने ऋषिमुनिहरु पनि जैसी हुन्
विश्वामित्र क्षेत्रीय भएर पनि ऋषि भए
यज्ञ गराउने ब्राह्मण भए

त्यसैले उसले धर्ममा मोक्षता खोजेन
किनकि उसले बुझेको छ
सबैले मोक्षता खोज्दा संसार प्राणीविहीन हुनेछ
उसले खोज्यो त केवल पुनर्जन्म
जसले गर्दा उसले हरेक जन्ममा
सांसारिक माया – मोह र दुःखमा भुलेर
आफ्नी प्रेमिकासँग प्रेम गर्न पाइरहोस् ।

ऊ एक धार्मिक क्रान्तिकारी हो
त्यसैले गर्दा आज ऊभित्रको ईश्वरले भनिरहेको छ
“यज्ञले त केवल सात जन्म प्रदान गर्छ मूर्ख
तेरो सिन्दुरले जन्म जन्ममा साथ प्रदान गर्नेछ ”
त्यसैले उ खुसी छ
किनकि ऊ जैसी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *