संसदका खाली कुर्सी र माइकले साेध्दै छन्– ‘सधैँ कता हराउनुहुन्छ मान्य ज्यू !’
काठमाडौँ । अधिकांश सांसदले भाषणमा भन्ने गर्छन्– ‘यो गरिमायमय सदन, यो सम्मानित संसद, यो सर्वाभौम सत्तासम्पन्न संसद…!’
हुन पनि सार्वभौम सत्तासम्पन्न जनताले आफ्ना काम गर्न चुनेर पठाएका प्रतिनिधिहरूको सभा हो– संसद। यसले सरकार बनाउनेदेखि सरकारलाई खारेज गर्ने, कानुन बनाउनेलगायत देशका सबै काम गर्न सक्छ । संसदभन्दा ठूलो देशमा कुनै निकाय नै हुँदैन । त्यो हुँदा यो लोकतान्त्रिक मुलुकको सुन्दर र गरिमामय सभा पनि हो । गरिमामय व्यवस्था हो ।
तर, विडम्बना यसरी भाषण गर्ने सांसदले नै संसदकाे गरिमा र मर्यादा कायम गर्न सकेका छैनन् । चुनावका बेला आ-आफ्नो क्षेत्रका जनताको समस्या संसदमा राख्ने बाचाकसम खाँदै हात जोडेर चुनाव जित्छन् र सांसद बनेर आउँछन् । तर, सांसद बनेपछि अधिकांश सांसदले जनताको जिम्मेवार प्रतिनिधि हुँ भन्ने नै ख्याल गरेको देखिँदैन । संसदमा हाजिर गरेर ‘कुलेलम ठोक्नु’ उनीहरूको प्रवृत्ति नै बनेको छ । हाजिर गरेर भत्ता आउने सुनिश्चित भएपछि नातागोता, आफन्त परिवार भेटघाट, घुमफिर, भनसुन, चलखेल, कमिसनको भागबन्डा जस्ता नेपथ्यका अनेक खेलमा सहभागी हुनु उनीहरूको दैनिकी जस्तै बन्ने गरेको छ ।
संसदमा उपस्थिति भए पनि विकेन्द्रित बहसमा सहभागी नहुने । आफू बोल्ने र अरू बोलेको बेला बाहिरिएर चमेनागृहतिर चिया चुराेटमा बरालिने, सर्कल बनाएर गफिने, घाम ताप्ने, आफूले बोल्दा पनि दलगत व्यर्थका आरोप–प्रत्यारोप र गन्थनमा महत्वपूर्ण समय बर्बाद पार्ने गरेका छन् ।
विगतकाे संसदका सांसदहरूले पनि देखाउने गरेको यो प्रवृत्ति पुरानै हो । नयाँ युवा जोस र जाँगरसहित देशलाई बदल्ने प्रण गरेर आएका वर्तमान सांसदका सांसदले पनि यही प्रवृत्ति दोहोर्याउँदा भने ‘जुनै जोगी आए पनि कानै चिरेका’ भन्ने पुरानै नेपाली उखानलाई चरितार्थ गरेको छ ।
मंगलबार संसदमा विडम्बनापूर्ण यस्तै दृश्य देखियो । २७५ सदस्यीय संसदमा २ तिहाई सिट खाली थिए । सचिवालयका अनुसार मंगलबारको संसद बैठकमा २ सय ३० जनाको हाजिर छ । तर, संसद सुरू भएकाे केही समयपछि नै जम्मा ९४ जना सांसद मात्रा बाँकी रहे ।
यी मध्ये पनि अधिकांश चमेनागृहतिर बरालिन जाँदा संसद भवनका रित्ता कुर्सीहरूलाई सभामुखको अनुमतिमा केही सांसदहरूले भाषण सुनाए जस्तै देखिन्थ्यो । सायद बाेल्न सक्ने भए कुर्सीहरूले भन्ने थिए– ‘मान्य ज्यू, कता हराउनु भयाे ? आजकाल त तपाइँ ममाथि बस्नु पनि हुन्न !’ बाेल्न सक्ने भए सायद ठडिएका माइकहरूले भन्थे हाेलान्– ‘मान्य ज्यू, तपाइँकाे प्रतिक्षामा म ठडिएकाे ठडिएै थाकिसकेँ ।’ तर, यी निर्जीव भाैतिक वस्तु चुपचाप सांसदकाे रमिता हेरे जस्तै देखिन्छन् । बाेल्नेका कुरासमेत नसुन्ने सांसदले नबाेल्नेकाे भाव किन बुझ्थे र ? संसदकाे गरिमाकाे यिनले व्यवहारमा कुनै ख्याल राख्न सकेका छैनन् ।
किन बेहाल छ संसद्को अवस्था ?
संसद सचिवालयका सहायक प्रवक्ता सूचना अधिकारी दशरथ धमलाका अनुसार हाल प्रतिनिधि सभामा इलेकट्रोनिक हाजिरी छैन । र संसदमा कतिबेर बस्दा तलब भत्ता पाउने र कतिबेर नबस्दा नपाउने भन्ने कानुनमा व्यवस्था छैन । किनभने आफूलाई त्यसरी कस्ने कानुन उनीहरू बनाउन चाहँदैनन् ।
उनले मकालुखबरसँग भने, ‘हामीले राष्ट्रिय सभामा मात्र इलेकट्रोनिक हाजिरको अभ्यास गरेका छौँ । हामीले तलब भत्ता उपस्थितिका आधारमा दिने हो । बस्नु भएकाे कि बस्नु भएन भनेर हेर्ने कानुमा व्यवस्था छैन ।’
हुन त जनताले विश्वास गरी निर्वाचित गरेर पठाएको प्रतिनिधिलाई धेरै नियमले बाँध्नु नपर्ने हो । सांसदहरु आफैँ नियम र कानुन बनाउने थलोका भएकोले जनताको प्रतिनिधि भएर के भूमिका निर्वाह गर्नुपर्छ भन्ने सामान्य चेत उनीहरुमा नभएको होइन । तर, आफूलाई आफैँले दण्डित गर्ने वा कस्ने कानुन बनाउन उनीहरू चाहँदैनन् । कानुनको खुकुलोपनको फाइदा उठाउँदै उनीहरुले अटेर गरिरहेको देखिन्छ । यसले गरिमामय संसद्को गरिमा खस्काउँदै लगेको छ ।
अघिल्लो कार्यकालको संसदमा गणपूरक गणपूरक सङ्ख्या नपुगेर धेरै बैठक स्थगित भएका उदाहरण देखिएका थिए ।
संसद सचिनवालका एक कर्मचारीले भने, ‘माननीयहरूलाई कानुनको ज्ञान भएर पनि अटेरी बन्नुहुन्छ । बैठकमा हाजिर गरेर कता जानुहुन्छ, हामीलाई थाहा नै हुन्न । तर तलब भत्ता लिनुहुन्छ ।’
जनप्रतिनिधिले जनताले नै तिरेका करबाट तलबभत्ता खाने हो । अर्थात् उनीहरू राज्यकोषमा जनताले जम्मा गरिदिने राजस्वबाट तलब लिन्छन् । जनताको पसिनामा बेफिक्री मोज गर्ने प्रवृत्तिले नेपालको राजनीति र सिङ्गो संसद हाउसमाथि नै प्रश्न खडा भएको छ । सांसदहरूले संसद्को नै खिल्ली उठाएका छन् । मजाक बनाएका छन् ।
अधिकांश दलका शीर्ष नेता जाँदैनन् संसद
विगतदेखि नै दलका शीर्ष नेताहरू संसदमा उपस्थित हुने कष्ट गर्दैनन् । आफ्नै निवासमा बसेर नेपथ्यका बैठकहरूमा सरिक हुने गरेका छन् । यसअघिका सरकारका प्रधानमन्त्रीहरूले प्रधानमन्त्री कार्यालय नै नगई सरकारी निवास बालुवाटारका अँध्यारा कोठाहरूमा बैठक गरेर सरकार चलाउँथे ।
त्यसैगरी दलका शीर्ष नेताका रूपमा रहेका सांसदलाई संसदमा सहभागी हुने कष्ट गर्नै परेको छैन । मंगलबार भएको प्रतिनिधि सभा बैठकमा ठुला दलका शीर्ष नेता नै अनुपस्थित देखिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रियसभामा सम्बोधन गर्नुपर्ने भएर उपस्थित हुन सकेनन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली पनि संसदमा उपस्थित भएनन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संसद गएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायत थुप्रै दलका शीर्ष नेताले संसद बैठकमा उपस्थित हुनु आफ्नो दायित्व ठानेनन् ।
विशेष कामका लागि संसदलाई जानकारी गराएर बाहिर गएका वा बिरामी भएका सांसद संसदमा नजानु स्वभाविक हाे । तर, अँध्यारा कोठामा बैठक गर्न संसद छाड्ने, हाजिर गरी तलब र भत्ता लिने तर संसद्को महत्त्वपूर्ण बहसमा सहभागी नहुने प्रवृत्तिलाई आम जनताले निको मानेका छैनन् ।
कहाँ जान्छन् सांसद ?
प्रतिनिधि सभाको बैठक भएको दिन बैठकमा संसद आउँछन्, हाजिर गर्छन् र बैठक सुरु भएपछि पालैपालो निस्कने गर्छन् । संसद भवनबाहिर निस्काएपछि उनीहरू केही साथी सर्कल बनाएर घाम ताप्ने र कोही चिया खाजा खान चमेनागृहतिर लाग्ने गरेको देखिन्छ । आफ्नो पार्टीको सांसदले बोल्ने समय सकिएपछि बाहिर निस्किएर विपक्षी दलका सांसदले नै बोलेको नसुन्ने उनीहरूको प्रवृत्ति छ । केही सांसद त गेटबाट छिरेर हाजिर गरी बैठक स्थलमै नपुगी चमेना गृहबाट नै घर तथा कोठे बैठकहरूमा पुग्ने गर्छन् ।
मंगलबारको बैठकमा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रश्न गरे– ‘संसद चलिरहेको बेला सांसदले संसदमा बस्नु पर्छ कि पर्दैन ? यो गरिमामय सदन हाजिर गर्ने थलो बनेको हो ? जनताले संसदमा प्रतिनिधि पठाएको भन्छन् । तर, हामी कहाँ हाजिर भइरहेका छौँ । यसबारे सचेत हुनुपर्ने छ ।’
यसबारे पूर्व सभामुखसमेत रहेका सांसद सुवासचन्द्र नेम्बाङले भने संसद्को क्षेत्र अधिकार असीमित भएकाले सांसदले सदनमा उपस्थित हुन र पूरा समय बस्न नसकेको भन्दै सांसदहरूको बचाउ गरे । तर, नेपालका सांसदले अहिलेसम्म के असीमित दायित्व निर्वाह गरे र देश विकासमा कति योगदान गरे भनेर प्रश्न गर्ने हो भने त्यसको जवाफ फेला पार्न मुस्किल पर्छ ।
नेम्वाङले भने– ‘हाम्रो पार्टीले पटक पटक यो विषयमा कुरा उठाएको छ । हाम्रा सांसद सचेत हुनुहुन्छ ।’ नेम्वाङले यसो भनिरहँदा एमालेकै अध्यक्षसमेत रहेका सांसद केपी ओली संसदमा आक्कल–झुक्कल मात्रै संसदमा देखिन्छन् भन्ने कुरालाई उनले पूरै बिर्सिदिए ।
जनताको पसिनामा माेजमस्ती
संविधानअनुसार प्रतिनिधिसभा बैठकमा हाजिर गरेका सांसदले एक बैठकको २ हजार भत्ता पाउने व्यवस्था छ । संविधान अनुसार उनीहरूलाई १ हजार बैठक भत्ता दिइन्छ । बैठकमा उपस्थित हुन १ हजार सवारी साधन भाडा दिइन्छ । एक संसद बराबर हाजिर गर्ने संसदले २ हजार रुपैयाँ प्रतिबैठक भत्ता पाउने चलन छ । यसहिसाबले मंगलबारकै संसद बैठकमा हाजिरी गरेका २३० मध्ये ९४ जना मात्रै बैठकमा रहेका थिए । हाजिर गरेर कुलेलम ठाेकका १३६ जनप्रतिनिधि सांसदले जनताका कुनै कामै नगरी मंगलबारकाे बैठकबापत मात्रै राज्यकाेषबाट २ लाख ७२ हजार रूपैयाँ बैठक भत्ता बुझ्ने भएका छन् ।
सांसदलाई कसरी जिम्मेवार बनाउन सकिएला ?
संविधानविद् भिमआर्जुन आचार्यले नयाँ सांसदले पनि पुरानै प्रवृत्ति दोहोर्याएको प्रति चिन्ता व्यक्त गरे । पहिले पनि संसदहरुले यस्तै गैरजिम्मेवार बनेकाे बताउँदै कुनै छलफल र एजेन्डामा केन्द्रित नभएको र यो प्रवृत्ति फेरि दोहोरिन नदिन आग्रह गरे ।
‘पटक पटक यो विषयमा चुनावका बेला पनि कुरा उठेका हुन्,’ उनले भने, ‘योपालि नयाँ अनुहारहरू आएका छन् । यो पटक संसद मजबुद र गम्भीर होला भन्ने थियो, तर अवस्था उस्तै देखियो । यो अत्यन्त दुःखद् छ ।’
शासन सत्तासँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण थलो संसद हाे ।
‘सांसदलाई कसरी जिम्मेवार बनाउने भन्ने कुराको कुनै औषधी क्याप्सुल हुँदैन,’ उनले भने, ‘नत्र त औषधी क्याप्सुल खुवाएर गराउन पाएको भए हुने थियो । संविधानमा पनि विवेक–बुद्धिको कुरा लेखिएको छैन । उहाँहरू सुध्रिनु पर्छ । मंगलबारको संसद बैठक हेरे पुरै सिट खाली थियो । सुरुवातमा त राम्रो उपस्थिति थियो । भरे ती संसद कता जानुभयो । यो त लाजमर्दो भयो । बानी व्यवहार सुधार्नु पर्छ । नयाँ आए भन्दैमा केटाकेटी तालमा कुदेर हुँदैन ।’
यस्तै, पूर्व सभामुख नेम्बाङले संसद सुरुवाती दिन भएका कारण पनि यस्तो भएको हुनसक्ने स्वीकार गरे ।
उनले भने, ‘व्यथित बनाउन सबै लाग्नुपर्छ । दलहरू पनि जिम्मेवार र बन्नुपर्छ । म सभामुख भएको बेला पनि यो प्रवृत्ति देखिएको थियो । सुधार हुन्छ भन्ने छ । यो पटक सुधार हुनुपर्छ भन्ने छ ।’
तस्बिरहरु : सरोज बस्नेत/मकालुखबर