सीएनआई कोसी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ ।
प्रदेश १ को भौगोलिक, जातीय र सांस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरूलाई जानकारी दिने उद्देश्यले यस्तो देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो ।
हिमालदेखि पहाड हुँदै तराईको भू-बनोटलाई एक्स्पोका दर्शकहरूले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि सांस्कृतिक विविधता बारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । विराटनगर महानगरपालिका-२ शंकरपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको छ ।
ऐतिहासिक रूपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरूको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरू जस्ता संरचना पनि निर्माण गर्न सुरु गरिएको जनाइएको छ ।
एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने निश्चित भइसकेको एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए । सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्ड, अभया सुब्बा द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कुँवर र उनको ब्याण्ड, समीर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका गायक उनीहरूको ब्याण्डले दैनिक प्रस्तुति दिने जनाइएको छ ।