इँटाभट्टाका मजदुर मातापिता, जसले छोरालाई बनाए सिभिल इन्जिनियर !
काठमाडौँ । सुनसान मध्य रात । सारा सहर मस्त निदाइरहेको छ । छेवाङ लामाको झ्याउली (काँचा इँटाका छाप्रो)मा पनि उस्तै चकमन्नता कायमै देखिन्छ । रातको ठिक १ बजे छेवाङको मोबाइलमा ‘अलार्म’को घण्टी बज्छ । घण्टीको आवाजसँगै उनका आँखाहरू बिउँझिन्छन् । तर, शरीर बिउँझँदैनन् । शरीर बिउँझाउन खोज्दाखोज्दै घडीको सुइले २ बजाइसक्छ । हतार गर्दै छेवाङ उठ्छन् । पत्नी सानुमाया पनि हत्तपत्त उठ्छिन् । अन्धकारमा छामछाम छुमछुम गर्दै बत्ती बाल्छन् । उज्यालो भयो । मानौँ उनीहरूका लागि घाम झुल्कियो । यही उज्यालोको सहारामा अनि सुरु गर्छन् इँटा बनाउन । यसैगरी सुरु हुन्छ इँटा भट्टाका मजदुर ४५ वर्षीय छेवाङ र उनकी पत्नीको दैनिकी । यद्यपि, यी दुईको मात्रै होइन, इँटाभट्टामा काम गर्ने सम्पूर्ण मजदुरहरूको साझा दैनिकी हो यो ।
रामेछाप, सुनपति गाउँपालिका–५ का छेवाङ लामा अहिले भक्तपुरका भट्टामा इँटा बनाउने काम गर्छन् । विगत २५ वर्षदेखि यो काम गर्दै आएका छन् । भन्छन्– ‘इँटाभट्टामा काम गर्न सजिलो छैन । धेरै दुःख हुन्छ, यो दुःख मैले विगत २५ वर्षदेखि गर्दै आएको छु ।’
छेवाङका ३ छोरा र पत्नी सहित ५ जनाको परिवार छ । उनले इँटाभट्टामा काम गरेरै छोराहरूलाई पढाए, लेखाए । उनका अनुसार सानैदेखि इँटा बनाउने काम गर्न थालेका उनले अन्य सिप सिक्न पाएनन् । बेलामा सिप नसिकेकाले इँटाभट्टामा मजदुरी गर्न बाध्य रहेको उनको भनाई छ । उनले भने ‘बालखदेखि यही काम गरियो । अहिले पनि यही काम गर्दै छु । बेलामा अरू सिप सिकेको भए पो अरू काम पाउनु त । हामीले नपढेर दुःख पाइरहेका छौँ ।’
छेवाङका पत्नी सुनमाया तामाङ भन्छिन्– ‘रातमा पूरा सहर निदाइरहँदा हामीलाई पनि सुत्न मन लाग्छ नि । तर के गर्नु, हाम्रो बाध्यता छ ।’
मजदुरी उनीहरूको रोजाई होइन । बाध्यता हो ।
छेवाङ दम्पती प्रत्येक दिन बिहान १ बजेदेखि इँटा बनाउन सुरु गर्छन् । मध्यान्ह करिब १२ बजेसम्ममा इँटा बनाइ सकेपछि चाङ लगाउन थाल्छन् । दिनभरि नै उनीहरू यही कामका व्यस्त रहन्छन् ।
यी दम्पतीले दिनमा ३ हजारसम्म इँटा बनाउने गरेका छन् । सिजन अन्त्यमा करिब २ लाखसम्म कमाउने गरेका छन् । उक्त कमाइले नै उनीहरूको बर्खा कट्छ । गाउँमा उत्पादन कम हुनेहुँदा इँटाभट्टामै भर पर्नुपरेको लामाले बताए । उनी भन्छन्– ‘पहाडमा धेरै खेतीपाती हुँदैन । उत्पादन कम हुन्छ । परिवारलाई खान पुग्दैन । त्यसकारण इँटाभट्टा मै भर पर्नुपर्छ । दुःख गर्नुपर्छ ।’
लामा दम्पतीले मजदुरी गरेर कमाएको पैसा खानपिनमा मात्र खर्चेनन् । केही पैसा छोराहरूलाई पढाउनका लागि बचाएर राखे । लामाले भने– ‘बच्चाहरूलाई पढाउन पैसा जोगाएर राख्थेँ ।’
रामेछापदेखि इँटाभट्टामै काम गर्न भनेर आएका लामा दम्पतीको दिनभर एक छिन फुर्सद हुँदैन् । दिउसो आराम गर्न पनि फुर्सद नभएको उनीहरू बताउँछन् । दिनभरिको मजदुरी र थकानका कारण बेलुकी ६ बजे नै सुत्ने गरेको लामाले बताए । यसरी नै फेरी उनीहरूको अर्को बिहानीको सुरुआत हुन्छ । उनीहरूको यो क्रम हिउँदभरि चलिरहन्छ ।
बर्खामा गाउँघर, हिउँदमा इँटाभट्टा । यही काम गरेर उनले आफ्ना तीन छोराहरूलाई पढाए । लामा भन्छन्– ‘हामीले रातभरि काम गरेर दुःखले छोराहरूलाई पढायौँ ।’
अहिले उनका माहिला छोरा ढेप्चन लामा सिभिल इन्जिनियर पढेर आफ्नै नगरपालिकामा प्राविधिकतर्फ काम गरिरहेका छन् । उनका जेठा छोरा पढेर विदेश गए भने कान्छा छोरा गुम्बामा ‘लामा’ पढिरहेका छन् ।
आफ्ना सन्तानले आफूजस्तै दुःख नपाउन् भनेर भनेर लामा दम्पतीले छोराहरूलाई मजदुर गरेरै भए पनि विद्यालय पठाए । छोराहरूले पनि बा–आमाको दुःख बुझेर पढिदिएकोमा उनीहरू खुसी छन् । लामा दम्पती अन्य मजदुरहरूलाई पनि आफूले जस्तै छोरा–छोरीलाई पढाउन सुझाव दिन्छन् । उनीहरूले भोगेका दुःख सन्तानले भोग्न नपरोस् भन्ने चाहना भएको उनीहरू बताउँछन् । उमेरले दिएसम्म इँटाभट्टामा काम गर्ने चाहना भएको उनीहरू बताए ।
नेपालमा अझै पनि कतिपय क्षेत्रमा रहर वा बाध्यताले बालश्रम हुने गरेको छ । बालबालिकाले पढ्न पाएका छैनन् । विद्यालय जान पाएका छैनन् । गए पनि पढाइलाई निरन्तरता दिन पाएका छैनन् । यदि लामा दम्पती जस्तो अभिभावक हुने हो भने गरिबी कै कारण बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने थिएन । इँटाभट्टामा काम गर्ने मजदुर लामा दम्पती समाजका एक उदाहरणीय अभिभावक हुन् ।