रविले चाहेमा भोलि नै लिन सक्छन् नेपाली नागरिकता
काठमाडौँ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।
आदेशसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् । तर लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउनेछन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रविले अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाउनु पर्नेछ । ती निस्सा बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ का अनुसार उनले विदेशी नागरिकता त्यागेको निस्सा बुझाउनु पर्नेछ । नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’
हेर्नुहोस् नेपाल नागरिकता ऐन :-
यद्यपि, सर्वोच्चले लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि उनी विरुद्ध झूटो विवरण दिएको आरोपमा अनुसन्धान भने गर्न सक्नेछ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुट्टो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ भन्ने व्यवस्था छ । यसैगरी ‘दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन’ भन्ने व्यवस्था छ ।
त्यस्तै ऐनको दफा १४ मा कुनै विदेशी व्यक्तिले झुट्टो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्क्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ भन्ने व्यवस्था छ ।