आफ्नै घोषणा लत्याउँदै पूर्व मुख्यमन्त्री राई, स्वास्थ्यमन्त्री चढ्ने गाडीमा सयर

विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुस २८ गते सामाजिक सञ्जालमा एउटा सन्देश सार्वजनिक गरे । उनले सार्वजनिक गरेको सन्देशमा भनिएको थियो, ‘सरकारी सवारी साधनको सुविधा भने मैले मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाट नै लिन छाडेको कुरा जानकारी गराउँछु ।’ उनको यति भनाइले राई राज्यको सम्पत्तिको दोहन नगर्ने इमानदार मुख्यमन्त्रीको रूपमा चिनिए भन्ने सन्देश सामाजिक सञ्जाल भरी फैलाइयो । उनले आफ्नो फेसबुकमा मुख्यमन्त्रीबाट बिदा भएको चौथो दिन पुस २८ गते बिहान ११ बजेदेखि मुख्यमन्त्री निवासबाट बिदा भएको लेखेका छन् ।

‘विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नु परेको कटु अनुभव हुँदाहुँदै पनि निवास छाड्न दुई दिन ढिला भएकोमा क्षमा चाहन्छु, उनले लेखेका थिए, २५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद, सभामुखको उम्मेदवारीको प्रक्रियामा व्यस्त, आफ्नो कार्यालय, सचिवालय, निवासका कर्मचारी, सुरक्षाकर्मी, सहयोगीसँग बिदाइ कार्यक्रम, २७ गते फुर्सद र तयारी, २८ गते बिहान ११ बजे निवासबाट बिदा ।’ उनले सोही ब्यहोराको दोस्रो बुँदामा सरकारी सवारी साधनको सुविधा भने मैले मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाट नै लिन छाडेको कुरा जानकारी गराउँछु भनेर उल्लेख गरेका थिए ।

उनले आफ्नो स्ट्याटसमा यो पनि लेखेका छन् की, ‘मैले यी कुरा यस कारणले सूचित गर्न जरुरी ठानेको हो, यी कुराको जानकारी वा सूचना नहुँदा विभिन्न तिरबाट आलोचनाको सम्भावना रहन्छ ।’ यही लेखेको कुराले नै उनलाई अहिले आलोचित बनाएको छ। उनले आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कुरामा आफैँ चुकेका छन् । उनले अहिले प्रदेश १ सरकारका पूर्व स्वास्थ्यमन्त्री जयराम यादव चढ्ने बा २ झ ३०८९ नम्बरको गाडी लिएर काठमाडौँदेखि जिल्ला दौडाहामा छन् । उनी यो गाडी प्रदेश सरकारको कुनै कामको लागि भन्दा पनि आफ्नो व्यक्तिगत काम र पार्टीको काममा हिँडेको मन्त्रालय श्रोतको दाबी छ । व्यवहारमा इमानदार देखिएका राईले गाडी प्रयोग नगर्ने भनेर घोषणा गरेको विषय अहिले चर्चामा आएको छ ।

गत पुस २५ गते प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरूको शपथको दिन मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरूबाट मन्त्री चढ्ने गाडी मगायो । मुख्यमन्त्री कार्यालयले मगाएपछि मन्त्रालयहरूले नपठाउने कुरा पनि भएन सबैतिरका गाडीहरू मुख्यमन्त्री कार्यालयमा पटाइए । त्यो दिन ३ जना मन्त्रीहरू मात्र नियुक्त भए सबैलाई विना विभागीय नै बनाइएपछि कुन मन्त्रालयका गाडी कसले चढ्छन् भन्ने पनि वास्ता नगरी जुन जुन गाडी छन् तिनै गाडी मन्त्रीहरूलाई दिइयो ।

मन्त्रीहरू अहिले पनि तिनै गाडी चढिरहेका छन् । प्रदेश १ को स्वास्थ्य मन्त्रालयमा मन्त्रीको रूपमा आएकी निर्मला लिम्बु मन्त्रालयमा आउँदा अर्कै गाडीमा पुगिछन् । तर मन्त्रालयको गाडी कहाँ छ भन्ने बारेमा मन्त्रालय नै अन्योलमा छ । मन्त्री लिनको लागि मुख्यमन्त्रीको कार्यालयमा पठाएका गाडी नआएपछि मुख्यमन्त्री कार्यालयमा जानकारी गराउँदा स्वास्थ्य मन्त्रालयलाई गाडी काठमाडौँ पठाइएको जानकारी आएको मन्त्रालय श्रोत बताउँछ । गाडी कसले र कुन प्रयोजनको लागि लगेको भन्ने बारेमा जानकारी नभएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

मुख्यमन्त्री कार्यालयका स्टोर तथा जिन्सी हेर्ने कर्मचारी किरण ढकालले पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले केही दिनको लागि लग्नु भएको बताए । उनले अब एक÷दुई दिनमा गाडी मुख्यमन्त्री कार्यालयमा आइपुग्ने दाबी गरे । एक हप्ता पहिला देखि यो गाडी राईले चढ्दै आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यसबारेमा पूर्व मुख्यमन्त्री राईले आफू सरकारी गाडीमा संखुवासभा रहेको मकालुखबरलाई जानकारी दिए । ‘कुन मन्त्रालयको गाडी हो मलाई थाहा छैन, उनले भने, संसद चल्दासम्मको लागि भनेर मुख्यमन्त्री ज्युले एउटा गाडी दिनु भएको छ, त्यो गाडीमा हिँडिरहेको छु ।’ उनले अहिले संखुवासभा रहेकोले अब फर्किनको लागि केही दिन लाग्ने बताए । सदन चल्ने दिन माघ २३ गतेसम्म विराटनगर फर्किने योजना रहेको सुनाए ।

प्रदेश सरकार निमित्त सचिव किशोरकुमार चौधरीले पूर्व मुख्यमन्त्रीलाई दिइने सुविधा सम्बन्धी कुनै पनि व्यवस्था नबनेको बताए । पूर्व मुख्यमन्त्रीलाई दिइने सुविधाको बारेमा कुनै कार्यविधि बनेको छैन, उनले भने, यो छलफलमै रहेको कुरा हो, यो विषय पोलिटिकल भएकोले सबै दलहरूले निर्णय लिएर मात्र कानुन वा कार्यविधि बन्नसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *