राष्ट्रिय सहमति खोज्नु भनेको प्रतिपक्षलाई राष्ट्रपति बनाउनु हैन : एमाले महासचिव पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षभित्र राष्ट्रिय सहमतिको कुरा भएको बताएका छन् । प्रतिपक्षलाई सोधिरहने वा उसलाई खुसी पार्न राष्ट्रिय सहमतिको कुरा नभएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले सत्तापक्षबीच राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति उम्मेदवार हुने बताए ।
‘राष्ट्रिय सहमति खोज्नु भनेको प्रतिपक्षलाई राष्ट्रपति दिने भनिएको हैन,’ उनले भने, ‘सत्तापक्षभित्रैबाट उम्मेदवार कसलाई उठाउने भन्ने हो ।’
उनले नेपाली कांग्रेस पहिला सत्तापक्ष की प्रतिपक्ष भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताएका छन् । संसद सचिवालयलमा गएर प्रतिपक्षको सुविधा पाउन निवेदन पनि दिने अनि राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नु तर्कसंगत नहुने पोखरेलको भनाइ छ ।
राष्ट्रपतिमा सत्तापक्ष नै हुने भएकोले प्रतिपक्षले दाबी गर्नु तर्कसंगत नहुने उनले बताए ।
‘नेपाली कांग्रेस पनि सत्तामा आओस् न साझेदार बनोस् अनि छलफल हुन्छ,’ उनले भने, प्रतिपक्षमा बस्ने अनि भाग खोजेर त भएन नि ।’
राष्ट्रपतिमा सत्तापक्षको भूमिका हुन्छ, प्रतिपक्षले राष्ट्रपति जस्तो पदमा उम्मेदवारी नदिई सत्तापक्षलाई सहयोग गर्छ भन्ने आफ्नो विश्वास रहेको पोखरेलको भनाइ छ । उनले राष्ट्रपति चुनावका बारेमा बहस र विवाद गर्नुपर्ने विषय नै नभएको बताए ।
‘राष्ट्रपतिमा एमालेको उम्मेदवार हुने भएकोले एमालेको उम्मेदवारले हार्ने भनेको सत्तापक्षको उम्मेदवारले हार्ने भन्ने कुरा हुन्छ त्यो हार्ने भन्नै कुनै प्रश्न छ र ?,’ पोखरेलले भने, ‘सत्तापक्षको उम्मेदवारले त जित्छ, प्रतिपक्षले उम्मेदवार नदिएर सहयोग गर्न सक्छ । प्रदेश र केन्द्रमा हामीले नेतृत्व गरिरहेका छौँ । भोट हाल्ने तिनै प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिले हो, अनि चुनावमा प्रतिपक्षले जित्छ भन्ने कुराको अर्थ छैन ।
कांग्रेसले सत्ता बाहिरबाट अस्थिरता ल्याउने खालको चलखेल गर्न खोजेको जस्तो देखिएको तर त्यसको कुनै अर्थ नहुने उनले बताए ।