खेतीयोग्य जमिनमा धमाधम प्लटिङ, बेरोजगार बन्दै किसान

काठमाडौँ । काठमाडौँ उपत्यकाका खेतीयोग्य जमिनको ‘प्लटिङ व्यापार’ व्यापक बन्दै गएको छ । त्यसो त देशभरिकै खास गरी सहर र बजार क्षेत्रका खेतीयोग्य जमिनको प्लटिङ व्यापार निकै बढेको छ । कृषियोग्य उर्वर भूमिलाई खण्डीकरण गरी जमिनकै तहगत व्यापार गर्ने प्रचलनले कृषि उत्पादन घटेको मात्रै छैन, कृषकसमेत बेरोजगार हुँदै गएका छन् । काम नपाएपछि उनीहरू अन्य पेशा गर्न बाध्य हुन थालेका छन् । यसले मानव जीवन निर्वाहका लागि अत्यावश्यक कृषिजन्य खाद्य उत्पादनमा केन्द्रित कृषकको संख्या दिनानुदिन घट्दै गएको छ ।

भक्तपुर दुवाकोटका किसान अहिले यही समस्याबाट पीडित छन् । विगत ३ वर्षदेखि दुवाकोटमा कृषि गर्दै आएकी किसान गीता खड्काले खेतीयोग्य जमिनलाई बेचबिखन र प्लटिङ गर्दा बेरोजगार भएको बताइन् ।

६५ वर्षीया गीताले गाउँघरमा घरखेती गर्थिन् । भक्तपुरमा आएर उनले ३ वर्ष टनेलखेतीमा ज्यालादारी काम गरिन् । काम गर्दागर्दै उनले टनेलखेती गर्ने सिप, तरिका र विधिको ज्ञान प्राप्त गरिन् । एकदिन उनले आफू काम गर्ने टनेल नजिकैको टनेल खेती बिक्री हुन लागेका थाहा पाइन् । उनले कामको दुःख नहुने भन्दै २ रोपनी जग्गामा भएको टनेलखेती डेढ लाखमा खरिद गरेको उनले बताइन् ।

उक्त जग्गामा उनले काउली, साग र गोलभेँडा रोपेकी थिइन् । रापेको ४ महिना नहुँदै नयाँ जग्गाधनीले उनका टनेल भत्काइदिए । भन्छिन्, ‘टनेल किनेको ४ महिना मात्र भएको थियो । सबै भत्काइदियो ।’

 

उनका अनुसार पुराना जग्गाधनीले जग्गा बेच्ने वा बेचेकोबारे पूर्वसूचना दिएका थिएनन् र पहिला टनेल बेच्ने व्यक्तिहरूले पनि उनलाई केही जानकारी दिएनन् । उनले भनिन्, ‘जग्गाधनीले हामीलाई केही भनेका थिएनन् । पहिला टनेल बेच्नेहरूले पनि केही भनेनन् । हाम्रो लगानी नै उठेको छैन ।’ बारीमा भएको काउली देखाउँदै उनले भनिन्, ‘यी काउली त फल्न देलान् कि ।’

गीता आफूले तरकारी खेतीमा गरेको लगानी उठाउन नसकेको र बेरोजगार भएको भन्दै चिन्ता व्यक्त गर्छिन् ।

त्यस्तै दोलखा घर भएको निर्मला खत्री पनि विगत १ वर्षदेखि दुवाकोटमा टनेलखेती गर्दै आएकी थिइन् । उनले वार्षिक ८३ हजार रकम तिरेर साढे तीन रोपनी जग्गामा तरकारी खेती गर्दै आएको बताइन् । उनका अनुसार उनले जेठसम्मको भाडा जग्गाधनीलाई बुझाइसकेकी थिइन् ।

निर्मलाका अनुसार करिब दशजना केटाहरू आएर सबै टनेलहरू भत्काउन थाले । उनीहरूले फोनमार्फत जग्गाधनीले जग्गा बेचिसकेको कुरा थाहा पाए । उक्त जग्गालाई प्लटिङ गर्ने उद्देश्यले नयाँ जग्गाधनीले टनेलहरू उखेल्न आएका रहेछन् ।

उनले भनिन्, ‘ एउटा जग्गाधनीले बेच्यो अर्कोले भत्कायो । हामी त बेरोजगार भयौँ । काम केही छैन । यती गरेको पनि निकाल्दी हाल्यो । ’

उनका अनुसार त्यहाँ धेरै किसानको टनेल उखेलिएको छ । लामो समयदेखि त्यसठाउँमा टनेलखेति हुँदै आएको थियो । टनेलखेती गर्नुअघि त्यहाँ धान, गहुँ जस्ता अन्नबालीको खेती गरिन्थ्यो ।

टनेलखेती गर्ने किसानले आफ्नो लगानी नउठेको भन्दै क्षतिपूर्तिको माग गरेका छन् । क्षतिपूर्ति नपाएसम्म त्यहाँबाट नहट्ने उनीहरूले तर्क छ । यसमा जग्गाधनीले केही प्रतिक्रिया दिएका छैनन् । निर्मलाले भनिन् ‘साहूहरूले क्षतिपूर्तिबारे केही भनेका छैनन् । दिने–नदिने केही टुङ्गो लागेको छैन ।’ उनीहरूले वास्तविकता बुझ्न जग्गाधनीलाई फोन गरेका थिए । तर, जग्गाधनीले फोन नउठाउने र उठाइहाले पनि ‘मेरो बुबाहरूले नै बेचिराख्नु भएको रैछ’ भन्ने खालका जवाफ आएको उनले बताइन् ।

अब गरेको लगानी तीन महिनामै उठाए पनि तरकारी खेती नै गर्ने गीताको योजना छ । भन्छिन्, ‘अब म त तरकारी खेती नै गर्ने सोचमा छु । लगानी नउठे पनि ऋण काढेरै भए पनि अन्य ठाउँमा तरकारी खेती गर्छु । अन्त जग्गा खोज्दै छु ।’

किसान निर्मला खत्री भने अब के गर्ने भन्नेबारे अलमलमा छन् । भन्छन् ‘हाम्रो त लगानी नै छैन ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *