मोरङको पिएलओ लुब्रिकेन्ट्सले आइपिओ निष्कासन गर्ने

विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ)ले आइपिओ जारी गर्ने भएको छ । आगामी आर्थिक वर्षमा आइपिओ जारी गर्ने गरी पिएलओले सम्झौता गरेको छ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।

शेयर निष्कासनका लागि भएको सम्झौता पत्रमा पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार एक कार्यक्रमका बिच हस्ताक्षर  गरे । पिएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको सोही अवसरमा जानकारी दिइएको थियो ।

बुधबार नै अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पिएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालका बिचमा शेयर खरिदबिक्री सम्झौता भएको छ । प्रालिका रूपमा रहेको पिएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए ।

आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ । शेयरमध्ये १० प्रतिशत ५० हजार कित्ता शेयर स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *