गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई रास्वपाले दियाे २ दिनको समय सीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय लिन २ दिनेको समय दिने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धारामा बिहीबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. मुकुल ढकालले यस्तो जानकारी दिएका हुन् ।
आफूहरु बैठक बसिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर गृहबारे निर्णय लिन २ दिनको समय दिन माग गरेको भन्दै २ दिन कुर्ने निर्णय भएको उनले बताए ।
रास्वपा समेत सम्मिलिन सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत नबसिरहेको अवस्थामा उक्त संयन्त्रको बैठक समेत बसेर आवश्यक निर्णय लिनेबारे दुवै नेताले जानकारी गराएकोले आफूहरुले २ दिन कुर्न लागेको उनले बताए ।
रास्वपाले आफूलाई गृह मन्त्रालय नै चाहिने बताएको छ । पार्टी सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालयमा पठाउने वा अन्य नेतालाई पठाउने भन्नेबारे भने पार्टीले पछि बैटक बसेर निर्णय लिने उनले बताए ।
रास्वपाले आजको बैठककै क्रममा सत्ता साझेदार दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पनि कुरा भएको उनले बताए । लिङदेनले पनि आफूहरुलाई केही समय कुरेर निर्णय लिन सुझाव दिएएको उनले बताए ।
नागरिकता विवादमा मुछिएका रवि लामिछानेको मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म रविलाई गृहमन्त्री बनाउन नमिल्ने भन्दै प्रधानमन्त्री प्रचण्डले अडान लिएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रविलाई नै गृहमन्त्री दिनुपर्ने बताउँदै आएका थिए । गृहमन्त्रालय नपाएपछि आफूहरु सरकारबाट बाहिरिन सक्ने भन्दै पार्टी सभापति लामिछानेले विहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए ।
बिहीबारको बैठकपछि प्रवक्ता ढकालले रास्वपाले गृह कुनै हालतमा नछोड्ने बताएका छन् ।