इटहरीमा हात्ती आतंक बढेपछि स्थानीयहरू रातभर अन्धकारमा जाग्राम बस्न बाध्य
इटहरी । इटहरीमा जङ्गली हात्तीको आतंक बढेको छ । हात्तीको बथान दैनिक जसो बस्तीमा पस्दा आतंक बढेको हो ।
जिल्लाको इटहरी २ शान्तिनगरस्थित बस्तीमा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय रोशन अधिकारीकाअनुसार भारतबाट आएका हात्ती बस्तीमा पसेपछि आफूहरू रातभर जाग्राम बसेको दुखेसो गरे । छावासहित दर्जन बढीको सङ्ख्यामा आएका हात्तीले लगातार चार दिनदेखि मानव बस्तीमा पस्न थालेपछि स्थानीय भयभीत भएका उनको भनाई छ ।
स्थानीय सरकार मूकदर्शक बन्दा आफूहरू अन्धकारमा रातभर जाग्राम बस्न बाध्य भएको उनको गुनासो छ । ‘वडा क्षेत्रभित्रका अधिकांश बत्तीहरू बल्दैनन्, बिजुलीको पोलमा तारमात्रै झुण्डिएका छन्,’ उनले भने, ‘हामीले वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी गराएका छौँ, दैनिक हात्ती मानव बस्तीमा आउँदा समस्या भएको छ ।’
इटहरी क्षेत्रमा अधिकांश ठाउँमा बिजुलीको पोलमा बत्ती नबल्ने हुँदा अन्धकार हुँदै आएको छ । शान्तिनगर सामुदायिक वन क्षेत्रमा पर्ने चारकोसे जङ्गलबाट हात्तीको बथान आउने गरेको छ । यस क्षेत्रमा पर्ने पानीपयादेखि पीपलचौकसम्म २० वटा बत्ती भएपनि कुनै बल्दैनन् । जसकारण बिहान कलेज, स्कुल जान विद्यार्थीहरूलाई पनि समस्या हुने गरेको छ ।
हात्ती मानव बस्तीमा पस्न नदिनका लागि प्रशासनसँग माग गरिएको छ । इटहरी २ का वडाध्यक्ष माधव कोइरालाले पनि हात्तीको बथान दैनिक आएकाले स्थानीयको ज्यान जोखिममा रहेको बताउँछन् । हात्ती भगाउनेबारे वन समितिसँग पनि सहकार्य भइरहेको उनको भनाई छ ।