सडकदेखि डम्पिङ साइडसम्मको फोहोर व्यवस्थापनमा चुकेको प्रदेश राजधानी वीरेन्द्रनगर
२०७९ माघ २० गते
सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर सुर्खेतमा फोहोर व्यवस्थापन कमजोर देखिएको छ । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको प्रशासनिक, व्यापारिक, तथा शैक्षिक केन्द्र भएको र मानिसहरूको चाप धेरै हुने हुँदा प्रदेश राजधानीमा सडकदेखि डम्पिङ साइडसम्मको फोहोर व्यवस्थापन प्रमुख चुनौती बनेको छ ।
वीरेन्द्रनगर सुर्खेतको बजार क्षेत्रमा उठेको फोहोरलाई नगरपालिकाले वडा नम्बर १ को बतासे डाँडामा डम्पिङ साइड बनाएर फाल्दै आएको छ । यद्यपि बतासे डाँडामा फोहोरको उचित व्यवस्थापन भएको भने देखिँदैन । त्यसो त वीरेन्द्रनगर सुर्खेतले अझै पनि एक स्थानको फोहोर अर्को स्थानमा लगेर थुपार्दै आएको छ । यसरी फोहोर व्यवस्थापन नहुने विभिन्न विज्ञहरूले तर्क समेत दिएका छन् । एक स्थानको समस्या अर्को स्थानमा लगेर थुपार्नु व्यवस्थापन नभएको विज्ञहरू बताउँछन् ।
सुर्खेत बतासे डाँडामा रहेको डम्पिङ साइडको अवस्थालाई हेर्दा यो स्थान एकदमै दुर्गन्धित बन्दै गएको छ । जसले गर्दा उक्त स्थानको वातावरण र त्यस क्षेत्रमा काम गर्ने स्थानीय प्रभावित भएका छन् । डम्पिङ साइडमा सबै प्रकारका फोहोर एकै स्थानमा फालिदा यसले थप चुनौती र समस्याहरू पैदा हुने देखिन्छ ।
बतासे डाँडामा कसरी हुन्छ फोहोर व्यवस्थापन ?
वीरेन्द्रनगर सुर्खेतको विभिन्न स्थानबाट उठेको फोहोर संकलन गर्दा कुहिने, नकुहिने सबै प्रकारका फोहोर सबै एकै ठाउँमा राखिन्छ र सोही फोहोरलाई बतासे डाँडामा लगेर फालिन्छ । साथै बतासे डाँडामा पुनः स्वास्थ्यजन्य फोहोर पनि मिसिन्छ । केही फोहोरलाई जलाइन्छ र केही त्यही छोडिन्छन् । जसकारण डम्पिङ साइड जति टाढा भए पनि फोहोरलाई खुल्ला आकाशमा राख्ने र सबै प्रकारका फोहोरलाई एकै स्थानमा मिसाउँदा यो क्षेत्रमा वातावरण र दृश्य प्रदुषणसँगै फोहोर थुप्रिएर आउने गन्ध, बग्ने लिचट र जलाउँदा निस्कने धुवाँले यो क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ । सामान्यतया फोहोरलाई तीन प्रकारमा छुट्याएर छुट्टाछुट्टै व्यवस्थापन नहुँदा यो क्षेत्रमा जोखिम बढेको पाइन्छ ।
बतासे डाँडाको स्थलगत अवस्था
डम्पिङ साइडमा सबै प्रकारका फोहोरहरू एकै स्थानमा फालिएको देखिन्छ । सबैभन्दा संक्रमणको प्रमुख कारण मानिने र मानव स्वास्थ्यका लागि हानिकारक स्वास्थ्यजन्य फोहोरको समेत यस क्षेत्रमा उचित व्यवस्थापन छैन । अन्य फोहोर सरह नै यो फोहोरलाई पनि एकै स्थानमा फालिने गरेको पाइएको छ । कुहिने, नकुहिने र स्वास्थ्यजन्य फोहोर एकै स्थानमा फालिदा सबै भन्दा प्रमुख समस्यामा त्यस क्षेत्रमा काम गर्ने स्थानीयहरू परेका छन् ।
मास्क, पन्जासमेत नलगाई काम गरिरहेका उनीहरू नगरपालिकाले मास्क, पञ्जा दिन समेत बेवास्ता गरेको बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिका १ बस्ने हरिसरा नेपाली र पुष्पा नेपाली विगत ५ वर्षदेखि डम्पिङ साइडमा काम गर्दै आएका छन् । फोहोरका ट्याकरहरुले फालेको फोहोरलाई सोरेर मिलाउने आफ्नो काम भएको उनीहरू बताउँछन् । मिश्रित फोहोरले गर्दा आफूहरूलाई काम गर्न चुनौती भएको उनीहरूको भनाइ छ । मास्क, पञ्जा समेत नलगाई काम गरिरहेका उनीहरू नगरपालिकाले मास्क, पञ्जा दिनसमेत बेवास्ता गरेको बताउँछन् ।
औषधी प्रयोग पश्चात फालिएका सिरिन्ज, फुटेका काँचहरु मिसिएको फोहोर सोर्दै गरेकी पुष्पा नेपालीले विगत पाँच वर्ष देखि काम गर्दै आएको र एक वर्षदेखि नगरपालिकाले नियुक्ति दिएर राखेको भए पनि आफ्ना समस्याहरू सुन्न कोही नआएको कर्णाली मिडियालाई बताइन् ।
उनले भनिन्, ‘दिनमा कयौँ पटक हस्पिटलका सिरिन्जहरू बिझ्छन् । कति पटक सिसाले काट्छन् । यहाँको दुर्गन्धको त बानी नै परिसक्याैँ । कोरोना, डेङ्गी पनि लाग्यो तर स्थानीय पालिकाले केही पनि गरेन । आफ्नै खर्चबाट उपचार गर्याैँ । कोरोना महामारीमा सबै घर भित्रै हुँदा समेत हामी यही ठाउँमा फोहोरलाई मिलाउँदै हुन्थ्यौँ । तर हाम्रो आजसम्म स्वास्थ्य बिमामा समेत कसैले पहल गरेको छैन । एक वर्षदेखि पालिकाले मासिक १३ हजार दिँदै आएको छ । जसबाट हामीले आफ्नो खर्च चलाउने गर्छौं ।’
यस्तै उनीसँगै डम्पिङ साइडमा काम गर्दै आएकी हरिसरा नेपालीले भनिन्, “सबै फोहोर ट्याक्टरले ल्याएर एकैठाउँमा फालिदिन्छ । हामीले यसलाई सोरेर मिलाउँछौ । यस्तो काम गर्दा हाम्रो स्वास्थ्यमा धेरै समस्या आएको छ । तर हाम्रो समस्या कसैले पनि सुन्दैनन् ।”
यता वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समग्र नगर क्षेत्र भित्रको फोहारमैलाको उचित व्यवस्थापनका लागि ल्यान्डफिल साइडमा निर्माण स्वीकृत विस्तृत आयोजना प्रतिवेदन अनुसार निमार्ण कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा जाने सडकको स्तरोन्नति गर्न रु ८० लाख बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
यद्यपि पालिकाले फोहोरको दीर्घकालीन समाधान र यसको व्यवस्थापनको अन्य पक्षहरू कुहिने फोहोरबाट विभिन्न जैविक तथा कम्पोस्ट मल बनाउने तथा नकुहिने फोहोरको पुनः प्रयोग जस्ता गतिविधिलाई जोड दिनुपर्ने देखिन्छ । बजारबाट निस्कने फोहोर, डम्पिङ साइडको क्षमता लगायतका विषयलाई मध्यनजर गर्दै एकीकृत फोहोर संकलन गर्नुपर्ने साथै प्रदेश राजधानीको बढ्दो जनसंख्या वृद्धिलाई मध्यनजर गर्दै यसको दीर्घकालीन समाधानमा लाग्नुपर्ने देखिन्छ ।
२०७९ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित