१३६ स्थानीय उम्मेदवारबाट साढे ४ करोड जरिवाना संकलन
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वातनमा उम्मेदवार बनेका र निर्वाचन खर्च विवरण नबुझाएका१३६ उम्मेदवारसँग साढे ४ करोड राजस्व संकलन गरेको छ ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवार १ लाख २३ हजार ६ सय २४ जना छन् ।
उनीहरुविरु कारवाही सुरु गरेको आयोगले शुक्रबार सम्म १३६ जनाबाट जरिबाना असुलेको हो ।
महानगरका मेयर उपमेयरका उम्मेदवारले साढे ७ लाख, महानगरका वडा सदस्य तथा वडा अध्यक्षले ३ लाख रुपैयाँ जरिवाना बुझाउनु पर्ने व्यवस्था छ ।
त्यस्तै, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारले ५ लाख, उपमेयरका वडा अध्यक्ष र सदस्यका उम्मेदवराले साढे २ लाख रुपैयाँ बुझाउनु पर्छ ।
नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे ४ लाख तथा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारले २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे ३ लाख र वडा सदस्य तथा वडा अध्यक्षका उम्मेद्वारले डेढ लाख रुपैयाँ जरिवाना बुझाउनु पर्ने व्यव्स्था छ ।
आयोगले आगामी फागुन मसान्तसम्म जरिबाना बुझाउन पनि आग्रह गरेको छ ।