सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो हामीसँग छैन : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकारसँग थुप्रै इन्टरनेट डाटा सेन्टर भए पनि त्यसको मूख्य साँचो नेपालसँग नभएको बताएकी छन् । त्यसले गर्दै सरकारी तथ्यांकहरुको सुरक्षामाथि गम्भीर चुनौती रहेको उनले बताएकी छन् । सरकारले यस्ता डाटा सेन्टरेको मुख्य साँचो अफैँसँग हुने गरी आइटी कम्पनी ओल्नुपर्ने उनले बताए ।
‘मैले के बुझें भने हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन ,’ काठमाडौँको मृकुटी मण्डपमा सुरु भएको क्यान इन्फोटेक प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौँ ? मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’
सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवर्द्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् ।
उनले यो सूचना प्रविधिको युग रहेको बताउँदै यो राष्ट्रियतासँग पनि जोडिएको बइन् । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उनको भनाइ छ ।
‘आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ’, मन्त्री शर्माले भनिन् ।
सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताइन् ।
‘विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ’, शर्माले भनिन् ।
जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउँदै शर्माले शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने उनको भनाइ छ ।
नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानुन बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताइन् ।