सुर्खेतका विद्यार्थीलाई पानस साउदी अरबद्वारा न्यानो कपडा वितरण

सुर्खेत । राप्रपाको प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबले वीरेन्द्रनगर सुर्खेतका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ । वीरेन्द्रनगरका विपन्न साथै जेहेन्दार विद्यार्थीलाई पानस साउदी अरबको सहयोगमा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले ज्याकेट वितरण गरेकी हुन् । प्रदेश सांसद शाहीको पहलमा साउदी अरबमा बसोबास गर्दै आएका समाजसेवी तथा मनकारी पानस साउदी अरबका पूर्वीक्षेत्रीय अध्यक्ष सन्दीप कार्कीको नेतृत्वमा पानस साउदी अरबका केन्द्रीय अध्यक्ष कुबेर हुमागाईँ र पानस रियाद साउदी अरब क्षेत्रीय अध्यक्ष अमर सापकोटाको सहयोगमा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ३ वटा विद्यालयका विपन्न साथै जेहेन्दार विद्यार्थीलाई ८५ थान न्यानो ज्याकेट वितरण गरिएको हो ।

ज्याकेट वितरणले विपन्न वर्गका बालबालिकालाई राहत मिल्ने विश्वास गरिएको छ । न्यानो कपडा वितरणमा सहयोग गर्ने पानस साउदी अरब विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ । सुर्खेतमा न्यानो कपडा वितरणले यहाँका विद्यार्थीलाई राहत पुग्ने र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने यो संस्थाले विश्वास लिएको छ । नेपालका विभिन्न क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको यस संस्थाले विभिन्न स्थानमा महत्त्वपूर्ण काम गर्दै आएको छ । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सांसद सन्तोषी शाहीले कर्णालीको शैक्षिक स्तरलाई उकास्नका लागि आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम गर्ने बताइन् ।

यस्तै उनले कर्णालीको शैक्षिक गुणस्तर निकै कमजोर भएको र यसको सुधारमा सबै लाग्नुपर्ने बताइन् । उनले न्यानो कपडा वितरणमा सहयोग गरेकोमा पानस साउदीलाई धन्यवाद समेत व्यक्त गरिन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक प्रगतिका लागि आगामी दिनमा पनि विभिन्न खालको सहयोग गर्ने प्रवासी नेपाली एकता समाज पानस साउदी अरबले प्रतिबद्धता जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकले पनि सहयोगका लागि धन्यवाद व्यक्त गर्दै कर्णाली प्रदेशले शैक्षिक विकासमा महत्त्वपूर्ण काम गर्नेमा आशावादी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *