ऐतिहासिक त्रिचन्द्र कलेजको प्रवलीकरण सुरु (तस्बिरहरु)

काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन प्रवलीकरण तथा पुनःनिर्माण कार्य सुरु भएको छ । २०७२ काे भूकम्पबाट चर्किएको घण्टाघर क्षेत्रको कलेज भवन पुनःनिर्माण नगरेकाे भन्दै विद्यार्थीहरू बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै थिए । त्यसपछि सरकारले ४८ करोड बजेट छुट्ट्याएर २ मोडलमा निर्माण गर्ने तयारी गरेको थियो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका थिए । त्यसपछि पुरातत्त्व विभागसहितको संलग्नतामा भवन निर्माण विभागले घण्टाघरको दायाँ क्षेत्रको प्रवलीकरण गर्ने र बायाँ क्षेत्रको भवनको पुनःर्निर्माण गर्ने गरी डिजाइन तयार पारेकाे थियाे ।

कलेजको प्रवलीकरण र पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितकाे याेजना तयार पारेकाे थियाे । बहुवर्षीय आयोजनाअनुसार अहिले प्रवलीकरण र पुनःनिर्माणका कार्य सञ्चालन गरिएको हाे ।

भवन निर्माण विभागका केन्द्रीय आयोजना कार्वानयन इकाई (भवन तथा आबास) का निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिण पट्टीको पुरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने  छ । त्यस्तै, उत्तरपट्टीको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ । अधिकारीका अनुसार एक महिनाअघि सुरु भएको प्रवलीकरण तथा पुनःनिर्माण कार्य दुई वर्षभित्र सक्नुपर्ने छ ।

तस्बिहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *