मोरङका स्थानीय तहहरूले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने
विराटनगर । मोरङका स्थानीय तहका प्रमुख-उपप्रमुखहरूले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख-उपप्रमुखहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेतापनि सञ्चार क्षेत्रको खबरदारी आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलीप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी चौधरी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाए । उनीहरूले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरूको पनि विवरणहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष सञ्जीव खनालले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले बहस, छलफल र समाचारहरू प्रकाशन तथा प्रसारण गरेर विषयहरू उठाउन सहयोग गर्ने बताए । पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरूको योजना निर्माणलाई सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रस्तुत गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो ।