भारतीय विदेश सचिव क्वात्राले सुरु गरे भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणका लागि आजै काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता सुरु गरेका छन् । विदेश सचिव क्वात्राले सुरूमा परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका छन्र । हाल नेपाल–भारत सचिवस्तरीय वार्ता काठमाडौँको होटेल याक एन्ड यतीमा भइरहेकाे छ ।
वार्तामा दुई देशबीचको कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य, संस्कृतिलगायत विषयमा छलफल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई सचिवबीचको भेटमा नेपाल–भारतसीमा समस्या, भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायतको भूभागका विषयमा समेत नेपाली पक्षले कुरा उठाउने छ ।
भारतले नेपालका भूमिसमेत समेटेर भारतको नयाँ नक्सा जारी गरेको छ । नेपालको आफ्नो भूमि भारतले उसको नक्सामा समेटेपछि नेपालले विभिन्न कुटनीतिक नोट पाठएर त्यसको खण्डन तथा विरोध गर्दै जवाफ मागेको छ । तर, भारतले यसबारे बोलेको छैन । सीमा विवादबारे कुरा गर्न नेपालले राखेको सीमा समस्या समाधान गर्ने प्रस्तावमा भारतले चासो देखाएको छैन ।
परराष्ट्र सचिव पौड्यालसँग छलफग गरेपछि आजै दिउँसो २ बजे विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै, ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने र बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।