राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडी विराटनगरमा भेला
विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि खेलाडी विराटनगरमा जम्मा थालेका छन् । मंगलवारदेखि सुरु हुने सप्ताहव्यापी खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरू विराटनगरमा आइसकेको नेपाल खेलकुद महासंघ प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य सन्तोष वान्तवाले जानकारी दिए ।
फागुन ७ गते विराटनगरमा हुने महासंघको राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा मंगलबारदेखि नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन देशेभरका खेलाडीहरू विराटनगरमा आइसकेको बान्तवाले बताए । क्षेत्रीय र राष्ट्रिय गरी ३ सय बढी खेलाडीले ब्याडमिन्टन प्रायोगिकतामा सहभागी जनाउने आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालामा रहेको कभर्डहलमा सुरु हुने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले गर्ने कार्यक्रम रहेको छ ।
भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएपनि फागुन ६ गते जिल्ला स्तरीय कराँते प्रतियोगिता र फागुन ७ गते बिहान केपी ओली रोड रेस प्रतियोगिता हुनेछ । पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको ११ विधामामा ६ लाख ६० हजार नगद पुरस्कारमा खर्च हुने प्रतियोगिताका संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा १५ वर्ष मुनिका, पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल, भेट्रान ४५ वर्ष माथिका, मास्टर भेट्रान ५५ वर्ष माथिका प्रतियोगितामा सहभागी हुनेछन् । वर्गीकरण गरिएका खेलाडीहरू मध्ये रेङ्किङमा परेका २० जना पुरुष खेलाडी र रेङ्किङमा परेका १२ महिला खेलाडीहरू प्रतियोगितामा सहभागिता जनाउने छन् । रेङ्किङका खेलाडीले प्रत्येक खेलमा विजयी भए बापत नगद १५ सय प्राप्त गर्दै जाने संयोजक श्रेष्ठले बताए ।