मन्त्री पौड्यालद्वारा भारतीय विदेश सचिव क्वात्रासँग नयाँ हवाई रुट दिन आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपालका लागि नयाँ हवाई रुट खोलिदिन भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेकी छन् । परराष्ट्रमन्त्री पौड्याललाई भेट्न सिंहदरबार पुगेका विदेशसचिव क्वात्रासँग उनले यस्तो आग्रह गरेकी हुन् ।
मन्त्री पौड्यालले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाइ रुटबारेसमेत छलफल गरेकी छन् ।
भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास सहायता बढाउने, लगानीको वातावरण बनाउने, द्विपक्षीय व्यापारका समस्या समाधान गर्ने, विद्युत्का समस्या समाधान गर्नेलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपाल आएका क्वात्रा सोमबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । त्यसलगत्तै उनले भेटघाट तीव्र पारेका हुन् ।