देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्नेछ – प्रभु साह
वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्ने बताएका छन्।
सोमबर वीरगन्जमा आयोजित आम जनता पार्टीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान राजनीतिक दलहरु जनताको एजेन्डाभन्दा पनि सत्ता भागबन्डामा केन्द्रित रहेको बताए।
जनयुद्ध दिवसको अवसर पारेर आयोजित भेलामा अध्यक्ष साहले जनयुद्धको ऐतिहासिक कार्यभार आफ्नो पार्टीले बोकेको र जनयुद्धका बाँकी एजेन्डा पूरा गर्न आफु अग्रसर रहने जीकिर गरे। देशका तमाम आन्दोलन परिवर्तन र बदलाका निम्ति भएको तर मुठीभर नेताले आफ्नो लागि भएजस्तो स्थापित गरेको बताउँदै अध्यक्ष साहले विकृती र भ्रष्टिकृत दलतन्त्रबाट देशलाई छुटकारा दिलाएर आम जनता पार्टीको नेतृत्वमा देश र जनताको बाँकी सपना पूरा हुने दाबी गरे।
‘आन्दोलन सफल भएको छ तर कागजमा मात्र। तिनै शासक रुप बदलेर लुट मचाएका छन् । आन्दोलनका नेताहरु लक्ष्यविमुख भएका छन् र आन्दोलन मुठीभर वर्ग र नेताको लागि भएको जस्तो देख्न सकिन्छ’, अध्यक्ष साहले भने, ‘आज राजनीतिक दल शासक र जनता शासितको रुपमा स्थापित भएका छन् । देश दलाल भगौडाको हातमा गएको र गरिब मजदुर किसान निरिह बनेको स्थिति छ । यसलाई बदल्नका लागि आम जनता जाग्नैपर्छ । देश र जनताको बाँकि सपना आम जनता पार्टीले पूरा गर्नेछ।’