हात्तीपाइलेविरुद्धको अभियान: १० वर्षमा नियमित ५ पटक औषधि सेवन गर्ने करिब १७ प्रतिशत मात्र
विराटनगर । मोरङ जिल्लामा १२ औ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ । आगामी फागुन ११ गतेदेखि यो अभियान चल्न लागेको हो । हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गर्दै यो वर्ष मोरङ जिल्लामा ८० प्रतिशत औषधिकाे प्रयोग पुर्याउने बताए । मोरङमा १० पटकसम्मकाे औषधि सेवन अभियान चलाइँदा नियमित ५ पटक औषधि सेवन गर्ने १६ दशमलव ७८ प्रतिशत रहेका छन् । यो नियमित ५ पटक औषधि सेवन गर्नेको तथ्याङ्क हो । दैनिक ज्यालादारी, मौसमी कामदारले औषधि सेवन नगरेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताए । ‘औषधि सेवन नगर्नेमा दिर्घराेगी, जेष्ठ नागरिक पनि हुनुहुन्छ,’ उनले भने, ‘पुँजीपति, शिक्षित वर्ग, कर्मचारीले पनि नखाएको पाइएको छ ।’
हात्तीपाइले विरुद्धको ३ वटा औषधि खुवाउने गरेको बताएका मेहताले यो औषधि दुई वर्ष लगातार खाएमा हात्तीपाइलेबाट बच्न सकिने बताए । औईभरम्याक्टिन, डाई-ईथाईलकारबामाजिन र अल्बेन्डाजाेल हात्तीपाइले विरुद्धको औषधिले कुनै हानी नगर्ने डा मेहताले बताए । हात्तीपाइले विरुद्धको औषधिले अहिलेसम्म कुनै हानि नगरेको र नगर्ने भयकोले निर्बाध औषधि सेवन गर्न आग्रह गरे ।
मोरङ जिल्लाका ८ लाख नागरिकलाई औषधि खुवाउने कार्यालयको लक्ष्य छ । ११ लाख २८ हजार ९५७ जना खान मिल्न खालको नागरिक छन् । अभियान सञ्चालन गर्नका लागि करिब १० लाख बजेट जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको बताए ।
दुई वर्ष उमेर नपुगेका केटाकेटीहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरू, सिकिस्त बिरामीहरू, ओछ्यानबाट उठ्न कठिन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका डायलाइसिस जस्ता चिकित्सा विधिहरूमा जीवन निर्भर हुने बिरामीहरूले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नहुने जानकारी दिइएको छ ।