ल्हाेत्से मलकाे पसलबाट ८ करोडको मोबाइल लुटिएको भन्दै क्षतिपूर्ति माग
काठमाडौँ । गोंगबुस्थिति नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलस्थित मोबाइल पसलमा तोडफोग गरी ८ करोड रुपैयाँ बराबरका मोबाइल र सामान लुटिएको तथा क्षति गरिएको भन्दै व्यवसायीले क्षतिपूर्ति माग गरेका छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका व्यवसायी अर्जुन चालिसेले मंगलबार मध्यान्ह पत्रकार सम्मेलन गरेर आफ्नो मोबाइल पसलमा भएको क्षतिको क्षतिपूर्ति सरकारले गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार प्रारम्भिक आकलनमा झण्डै ८ करोडको मोबाइल क्षति भएको उनले बताए ।
महासंघले पत्रकार सम्मेलनमा उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ– ‘कुनै एक व्यवसायीले आफ्नो हकहितको माग गरी गरिएको आन्दोलनमा अर्को व्यवसायीलाई ठूलो घाटा पुग्ने गरी डकैती शैली प्रदर्शन हुन भएन ।’
सोमबार साँझ माछापोखरी तथा बसपार्क क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा केही व्यक्तिले पसलमा तोडफोड गरेर मोबाइल तथा मोबाइलसम्बन्धी सामान लुटेको र क्षति पुर्याएको चालिसेले बताएका छन् ।