७० अंक ल्याउनेलाई ड्राइभिङ होइन, दुर्घटना लाइसेन्स दिइँदै छ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले ७० अंक ल्याउँदा पनि सवारी चालक अनुमति पत्र दिने व्यववस्थाले सडक दुर्घटना बढाउने बताएका छन् । प्रतिनिधिसभा संसदमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘रातो बत्ति बल्दा पनि वा ट्राफिक संकेतको पालना नगर्नेले पनि अब सवारी लाइसेन्स पाउने भए,’ उनले भने, ‘त्यसरी लाइसेन्स दिने हो भने ड्राइभिङ लाइसेन्सभन्दा पनि टुर्घटना लाइसेन्स बन्ने छन् ।’
एउटै सडकमा गुड्टे बाइक, स्कुटर, मोपेड, कारका लागि ७० प्रतिशत अंक ल्याएर पास हुने र बस, ट्रक, एक्साभेटरलगायत सवारीको लाइसेन्स लिन शतप्रतिशत नै अंक ल्याउनु पर्ने व्यवस्थाले लाइसेन्समै विभेद निम्त्याउने उनले बताए ।
‘एउटै सडकमा गुड्न सवारीका लागि पनि लाइसेन्स लिन दुई खोलको अंकको व्यवस्था उचित हुँदैन,’ उनले भने, ‘त्यस्तो भयो भने नेपालको लाइसेन्सले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउँदैन ।’
आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यस्तो व्यवस्था ल्याउन आफूले रोकेको भए पनि अहिले सरकारले यो व्यवस्था लागु गरेको भन्दै उनले आपत्ति जनाए ।